काठमाडौं । ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका छन् । कठिन प्रयासपछि सुरक्षाकर्मीहरु संसद भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् ।
हङकङमा हप्तौंदेखि सुपुर्दगी सम्बन्धि विधेयकको विरोध हुँदै आएको छ । हङकङ सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । संसद भवनमा भएको आक्रमणलाई पनि त्यसैको श्रृंखलाअन्तर्गत हेरिएको छ ।
मुख्य सभा हलभित्रै छिरेर प्रदर्शनकारीले हङकङको प्रतीक चिह्नमा कालो रंग पोतेर ब्रिटेनको झण्डा राखेका थिए । टाउकोमा हेल्मेट र मुखमा माक्स लगाएका प्रदर्शनकारीले फर्निचरहरु तोडफोड गर्ने, भित्तामा सरकारविरोधी नाराहरु लेख्नेलगायतका काम पनि गरे । मध्यरातपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर उनीहरुले त्यहाँबाट हटाउन सफल भएको थियो ।
प्रदर्शनकारीले विधेयक फिर्ता नभइ खारेज गर्न र हङकङको कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग गर्दै आएका छन् । उक्त विधेयकअनुसार कानुन बनेमा अभियुक्तहरुलाई चीनलाई हस्तान्तरण गर्न सकिने र चीनमै मुद्दा चलाउन सकिने छ ।
प्रदर्शनकारीहरुले यस्तो व्यवस्था भए चीनले गलत प्रयोग गर्न सक्ने भन्दै विरोध गरेका छन् । राजनीतिक रुपमा असहमत हुनेहरुलाई निशाना बनाउन सकिने चिन्ता उनीहरुको छ । सोमबार सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरु संसद भवनमा घुसे । साँझपख सुरक्षाकर्मीहरु पनि त्यहाँबाट हटे । प्रदर्शनकारीहरु केहीबेर चुपचाप बसिराखे । तर पछि, उनीहरुले तोडफोड सुरु गरे ।
प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । झडपको क्रममा १३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनकारीले नाली सफा गर्ने तरल प्रदार्थ छ्यापिदिँदा प्रहरीहरु घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । अप्ठ्यारोमा परेकी हङकङकी नेतृ केरी लामले पत्रकार सम्मेलन गर्दै संसद भवनभित्र घुसेर हिंस्रक व्यवहार गर्नेहरुको आलोचना गरेकी छन् । हङकङ सन् १९९७ यता चीनको एक देश दुई प्रणाली सिद्धान्तअनुसार स्वायत्त छ ।
२२औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच पटक-पटक झडप भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । प्रदर्शनकारीले नाली सफा गर्ने ठानिएको तरल पदार्थ छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् । हिंसात्मक विरोध प्रदर्शनहरूका कारण वर्षगाँठका समारोह प्रभावित भएको छ । यसअघि, दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा सडकमा उत्रिएका थिए ।