सर्लाहीमा आइतवार पनि चल्यो गोली : प्रहरीको गोलीबाट १ को मृत्यु, झडपमा ११ घाइते

सर्लाही, १५ असार । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएपनि यो समाचार तयार पार्दासम्म उनको सनाखत हुन सकेको छैन । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको असार ५ मा प्रहरीको  गोली लागि मृत्यु भएको दुई साता नबित्दै शनिवार पनि एक जना मजदूरमाथि गोली प्रहार भएको थियो । अज्ञात समुहको गोली लागि लालबन्दी नगरपालिका- १ नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएका थिए ।

अपडेट : प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिको पहिचान भएको छ । उनी इश्वरपुर नगरपालिका वडा नम्बर १३ श्रीपुर बस्ने अन्दाजी २५ वर्षीय युवा सराेज नारायण महतो भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि बाध्य भै गोली चलाउनुपरेको जिकिर गरेको छ भने स्थानीयवासी भने प्रहरीले अनावश्यक दमनमा उत्रेर गोली बर्शाएको बताउछन ।गोली लागेका अर्का राजकुमार महराकाे अवस्था खतरामुक्त रहेको छ । महरालाई उपचारका लागि जनकपुर लगिएकाे छ ।

एउटा शोकमा रहेका इश्वरपुरका स्थानीय अर्को शोक व्योहोर्नु पर्दा स्तब्ध बनेका छन । नदी दोहनको विषयमा केन्द्रित रहेर स्थानीयलाई सम्झाउन सकेको भए गोली चलाउनुपर्ने अवस्था नरहेको स्थानीय बुद्धिजीवीहरु बताउछन ।

 

Loading...