सरकारको योजनामा विद्यालयको साथ्

काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो ।

सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना ल्याएपछि प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न यस अघि नै पत्राचार गरिसकेको छ ।

यसैबीच सरकारको यस निर्णयलाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने संरचनाको रुपमा रहेका शैक्षिक संस्थाहरुले समेत वृक्षारोपण वर्षमा सक्रिय सहभागीता देखाएका छन । शिक्षा तथा मानव श्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सबै विद्यालयहरुलाई वृक्षारोपण वर्षमा सक्रिय सहभागीताका लागि निर्देशन गरिसकिएको जानकारी गराए । विद्यालय हाताभित्र र बाहिर समेत फलफूलका विरुवा रोपेर सरकारको योजना सफल पार्न निर्देशन गरिएको र सोही बमोजिम विद्यालय विदाका बाबजुद शनिवारबाटै विद्यालयहरुले बृक्षारोपण शुभारम्भ गरेको महानिर्देशक पौडेलले बताए ।

शिक्षक विद्यार्थी र अभिभावक समेत गरी लाखौको संख्यामा रहेको जनसंख्यालाई विद्यालयले परिचालन गर्न सक्ने भएकोले सरकारको बिरुवा रोप्ने अभियान सफल बनाउन विद्यालयहरुलाई विशेष निर्देशन गरिएको महानिर्देशक पौडेलले जानकारी दिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको हरीत विद्यालय अभियानलाई समेत सरकारको वृक्षारोपण वर्षको अभियानमा समाहित गर्दै अघि बढ्ने उनले बताए ।

Loading...