बगरमा टुंगिएको त्यो सपना, यि बाबु छोरिको तस्विर देख्दा कस्को आखाँ नरसाउला,

केही वर्ष अमेरिका बसेर घर बनाउने पैसा लिएर आउने भनेर गएका थिए ।

काठमाडौं १२ असार । “मैले नजानु भनेकी थिएँ, उनीहरु पैसा कमाउन चाहन्थे । केही वर्ष अमेरिकामा बसेर घर बनाउने पैसा लिएर आउने भनेका थिए । त्यही भएर उनीहरु छोरा, बुहारी र नातिनी अप्रिल ३ का दिन हिँडेका थिए,” अहिले संसारभरी भाइरल भइरहेको मृत अवस्थामा भेटिएका एल्साल्भाडोरका आप्रवासी बाबुकी आमा रोजा रामिरेजले बुधबार पत्रकारहरुसँग रुँदै भनेकी छन् ।

आफ्नी नातिनीका खेलौना हातमा लिएर रुँदै गरेको तस्बिरसहितको समाचार बुधबार बेलायतको मेट्रो युकेले प्रकाशित गरेको छ । रोजाका छोरा २५ वर्षीय ओस्कार अबलेर्टो मार्टिनेज रामीरेज, बुहारी २१ वर्षीया तानिया भानेस्सा अभालोज र २३ महिनाकी नातिनी भ्यालेरिया अप्रिल ३ का दिन एल्साल्भाडोर छोडेर दुईमहिना मेक्सिको र ग्वाटेमालाको सीमानामा रहेको तापाचुलामा बिताएका थिए ।
त्यसपछि मेक्सिको हुँदै अमेरिका छिरेर आफ्नो सपना पूरा गर्ने उनीहरुको उद्देश्य भयानक त्रासदीकाबीच गएको आइतबार सदाका लागि टुंगियो ।

भएको के थियो ?

आफ्नो सपनाको संसार अमेरिका जाने क्रममा अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो ग्रान्डी नदीमा यात्रामा रहेका तीन मध्ये दुईजनाको इहलीला गएको आइतबार समाप्त भयो । उनीहरुको फेला परेको शवले अहिले सम्पूर्ण विश्व स्तब्ध भएको छ ।

मेक्सिकोकी पत्रकार जुलिया ले डकको ला जर्नाडा पत्रिकामा प्रकाशित सो फोटोमा बाबु छोरी पानीमा तैरिरहेको देखिन्छ । जसमा बाबुले लगाएको कालो टिशर्ट भित्र छोरीको टाउको अल्झेको छ । ती पत्रकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई दिएको प्रतिक्रियामा भनिएको छ, “गएको आइतबार बिहान रियो ग्रान्डी नदीको छेउमा एक महिला आत्तिएर गुहार मागिरहेकी थिइन् । हामी उनलाई पछ्याउँदै गयौं । उनी बेस्सरी चिच्याउँदै आफ्नो छोरीलाई नदीले बगाएर लग्यो भन्दै थिइन् । पछि थाहा भयो उनको नाम भेनिसा रहेछ ।”

आइतबार बिहान बसबाट ओर्लिनासाथ उनीहरू रियो ग्रान्डीमाथि बनेको पुल चढेर शरणार्थीका लागि निवदेन दिन गएका थिए । बिदा परेकाले अमेरिकी अध्यागमन कार्यालय बन्द थियो ।

उनीहरू निराश हुँदै मेक्सिकोतिर फर्केका थिए । अमेरिकी अध्यागमन अधिकारीले सातामा तीन दिनमात्र अहिले शरणार्थी बन्न चाहनेको अन्तर्वार्ता लिने गरेको छ । अन्तर्वार्ताको पालो कुर्न महिनौं लाग्ने भएकोले आप्रवासीहरु संकटमा पर्ने गरेका छन् । पुलबाट फर्किँदै गर्दा रामिरेजले नदीतिर हेर्दै रोकिएर त्यहाँबाट पारि जान सकिने बताएका थिए ।

मेक्सिकोतिर पुगेपछि रामीरेजले पत्नीलाई किनारामा कुर्न भनेका थिए र २३ महिनाकी छोरीलाई बोकेर उर्लिदोे रियो ग्रान्डीमा हाम फालेका थिए । भेल पार गरेर बाबुछोरी अमेरिकातिर पुगे ।

रामीरेज छोरीलाई छेउमा राखेर पत्नीलाई लिन फेरि नदीमा हामफाले । पत्नी छुटेकी थिइन् । पत्नीलाई पनि मेक्सिकोबाट अमेरिका ल्याउन सके उनीहरु तीनैजना सपनाको देश अमेरिका पुग्न सक्थे । तर नदीमा पस्नासाथ छोरी डराइन् र बाबुतिरै नदीमा हामफालिन् । उनी छोरीलाई बचाउन फर्किँदा छोरीलाई छालले बगाइसकेको थियो, उनी छोरीलाई पक्रन त्यतैतिर हेलिए । तर, कहिल्यै फर्केनन् । आइतबार राति ११ बजेसम्म उद्धार दलले बाबु छोरीको खोजी गरेपनि उनीहरु भेटिएनन् ।

सोमबार बिहान १० बजेतिर बल्ल उद्धारकर्ताले नदी किनारामा बाबु छोरीको शव भेटटाएका थिए । त्यही बेला खिचिएको सो तस्बिर अहिले चर्चित बनेको हो । त्यही दिनबाट टुट्यो एल्साभाडोरको एउटा परिवारको सपना ।

स्वदेश फर्काइँदै शव.

मृतक बाबु छोरीको शव आज स्वदेश फर्काइने भएको छ । यो विभत्स अवस्थापछि एशोसिएट्स प्रेस एपीलाई प्रतिकृया दिँदै पत्नी तानियाले आफूहरु मेक्सिकोको मानवीय भिसामा दुई महिनादेखि बस्दै आएको र अमेरिकामा शरणार्थीका लागि प्रयास गर्ने क्रममा यो घटना भएको बताएकी छन् ।

एल्साल्भाडोरका विदेश मन्त्री अलेक्ज्यान्द्रा हिलले अवैध आप्रवासी भएर जीवन खतरामा पार्नबाट रोकिन आफ्ना जनतालाई आग्रह गरेका छन् । एल्साल्भाडोर सरकारले दुई जनाको शव फिर्ता ल्याउनका लागि लाग्ने खर्च व्यहोर्ने बताएको छ ।

उनीहरुका आफन्तलाई आवश्यक सहयोग गर्ने समेत जनाएको छ । मेक्सिकोका राष्ट्रपति एन्ड्रेज मानुएल लोपेज ओब्राडरले सो घटनालाई खेदजनक भएको बताएका छन् । इसाई धर्म गुरु पोप फ्रान्सिसले पनि उनीहरुको मृत्युले आफू दुःखी भएको बताउँदै उनीहरुको लागि आफूले प्रार्थना गरिरहेको जनाएका छन् । आप्रवासी बाबु छोरीको यो तस्बिरलाई सिरियाको युद्धमा मानवीय मूल्यका प्रतीक भएका बालक अलान कुर्दीसँग समेत तुलना गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासी नीतिले गर्दा पनि यस्तो अवस्था उत्पन्न भएको भनेर अहिले संसारभरी आलोचना पनि भइरहेको छ । ट्रम्पले केही साता अघि मात्रै मेक्सिकोले आप्रवासी नरोके महिनैपिच्छे उसको देशबाट आउने सामानमा कर बढाउँदै जाने चेतावनी दिएका थिए ।

पछि मेक्सिको र अमेरिकाबीच सहमति भयो र मेक्सिकोले आप्रवासीलाई कडाइ गर्ने सहमति पनि भएको थियो । ट्रम्पले सन् २०१४मा आफू राष्ट्रपति पदमा नियुक्त हुनुअघि आप्रवासीको मुद्दालाई नै मुख्य एजेण्डा बनाएका थिए । हुनत मेक्सिको र अमेरिकाको सीमामा यस्ता घटना हुनुलाई त्यति अनौठो मानिँदैन । किनकि दैनिक जसो यस्ता केही न केही घटना हुन्छन् । तर, कति सार्वजनिक हुन्छन् कति सार्वजनिक नहुँदै हराउँछन् । गतवर्ष अमेरिका र मेक्सिकोको सीमामा २८३ जनाको मृत्यु भएको थियो । तिनमा बालबालिका पनि थुप्रै संख्यामा परेका थिए ।

वास्तवमा आफ्नो मुलुकमा राम्रो सुविस्ता दिइएन वा राम्रा शासक भएनन् भने जनताको हालत कस्तो हुन्छ भन्ने पनि आप्रवासीलाई परेको यो विपत्तिले प्रष्ट पारेको छ ।

Loading...