माडगास्कर स्वतन्त्रता दिवस: रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु

राष्ट्रपति आन्ज रड्जूएल

माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ।

सो दु:खद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन्। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्।

गत सेप्टेम्बर महिनामा फुटबल खेल हुँदा भिडले किचेर त्यही रङ्गशालामा एक जनाको मृत्यु भएको थियो भने ३० भन्दा बढी मानिस घाइते भएका थिए।

स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए। समाचारसंस्था एएफपीका अनुसार परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर जाऊन् भनेर ढोकाहरू खोलिदिएका थिए।

तर प्रत्यक्षदर्शीहरूले केही ढोका तत्कालै बन्द गरिएको र भिडलाई प्रहरीले रोकेकाले मानिसहरू किचिएको बताए।

राष्ट्रपति आन्ज रड्जूएल

घटनामा घाइते भएका एक व्यक्तिले भने, “आयोजकले ढोका खोल्दा हामी पङ्क्तिको अगाडि थियौँ।”

तर मानिसहरू दौडिँदै हाम्रा अगाडि आए। उनीहरूले हामीलाई धकेले, केहीले त मुक्का हाने र ताने पनि।”

त्यसो हुँदा आफू अचेत भएको उनको भनाइ छ। राष्ट्रपति आन्ज रड्जूएल पछि घाइतेलाई भेट्न अस्पताल गए। उनले उपचारको खर्च राज्यले बेहोर्ने संवाददाताहरूलाई बताए।

Madagascar

विविसि नेपालीबाट

Loading...