उपत्यकासहित देशभर भारी वर्षाको सम्भावना,

काठमाडौं ८ असार । आज उपत्यकासहित देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज आइतबार खासगरी मध्ये र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । यो क्रम पर्सि मंगलबार सम्मै जारी रहने छ ।

मौसमविद् कँडेलका अनुसार अहिले पनि देशका केही स्थानमा पानी परिरहेको छ । पश्चिम पोखरा, सुर्खेतलगयात, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको उनले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुने देखिएको छ । पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

पश्चिमी र मध्य भूभागका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यस्तै उच्च हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै गएपछि वर्षा सुरु भएको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले नारायणी, पश्चिम राप्ती, बबई र कर्णाली जलाधार क्षेत्रमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावनाले उक्त जलाधार क्षेत्रमा बहाव उल्लेख्य बढ्ने अनुमान गरेको छ । तर उक्त नदीहरूमा सतर्कता तथा खतरा तह पार गर्ने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र ५ नम्बर प्रदेशका पहाडी तथा चुरे क्षेरका ससाना खोलानालाहररूमा भने तीव्र बहावको सम्भावना छ । पहिरोग्रस्त क्षेत्रहरूमा लेदोसहित आकस्मिक बहावको सम्भावनासमेत रहेको महाशाखाले आइतबार बिहान जारी गरेको बाढी बुलेटिनमा उल्लेख छ ।

Loading...