निजामती ऐनबारे मन्त्री पण्डित ,हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ

काठमाडौं, ८ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए ।

हिजो गरेनम् आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले भने ‘अहिले जुन ऐन आएको छ । सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’

‘अहिले त्यो गर्‍यो भने नीतिगत रुपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ । हामी त्यो ठाउँमा छैनौं । समग्र परिवेशले कहाँनेर कति चेन्ज गर्न सकिन्छ, त्यति बुझेर अगाडि बढ्यौं भने हामी निकासमा पुग्छौं ।’

बैठकमा सांसदहरुले श्रेणीगत र तहगत रुपमा कर्मचारी समायोजन गरिएको विषयमा जिज्ञासा राखेका थिए । मन्त्री पण्डित लामो समयसम्म छलफल गरेर श्रेणी र तहगत प्रणालीमा गएको बताए । उनले भने ‘अहिलेमात्र होइन, लामो समय छलफल गरेर स्थानीय र प्रदेशमा तहगत प्रणालीमा हामी गएका हौं । त्यसपछि स्वास्थ्य र निजामतीसँग जोडिएर कतिसम्म एकरुपता गर्न सकिन्छ त्यतिसम्म एकरुपता गरेर ल्यायौं । भविष्यमा फेरि पनि बस्तुस्थितिको आधारमा जान नसकिने भन्ने कुरा भएन ।’

उनले भने, अहिले हामी देख्छौं, एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्को तिर जनपद प्रहरी, अर्कातिर अनुसन्धान र अर्को तिर निजामती छ । यी सबै सरकार त सरकारकै हुन्, तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन । तर अहिले नै सबै भताभुंग गरेर फेरि अर्को आँधीबेहरी सिर्जना गर्ने गरी अहिले सम्भव छैन । सम्भव भएजति छलफल गरेर ल्याइएको छ ।’

Loading...