ज्वाइँ त बदमास भए छ ‘जिलाजं ला बदमास जुल’– गगन थापा

काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका नागरिकहरु सरकारी घ्यू खाएका अरिंगाल नभएका बताएका छन् ।

नेकपाका सांसदहरुले सडकमा नागरिक नभइ सामन्ती, राजावादी, भाडाका गुण्डाहरु भएका आरोप लगाएपनि थापाले ति नागरिक अरिंगाल नभएका भनी व्यंग्य गरेका हुन् ।

आइतबार काठमाडौं न्युरोडको इन्द्रचोकमा आयोजित गुठी विधेयक विरुद्धको विरोध र्यालीमा बोल्दै थापाले प्रधानमन्त्रीलाई गुठी विधेयक संविधान विपरित रहेको स्मरण गराएका हुन् ।

थापाले सभाबाटै प्रधानमन्त्रीलाई भने– ‘सत्यमोहन जोशीले तपाईंलाई दिएको सुझाव सुन्नुस्, बेलैमा सुन्नुस् । नजिस्क्याउनुस् काठमाडौंलाई । काठमाडौंले माया गर्न जानेको छ। तपाईं, हामीलाई माया गरेको छ । तर, काठमाडौं रिसायो भने यसले भष्म पनि गर्न जानेको छ ।’

थापाको सम्बोधनको पूर्णपाठ जस्ताकोतस्तै

मेरा आमा र बा पूर्वी पहाडको सोलुखुम्बु जिल्लाबाट धेरै वर्षअघि सुखद अवसर खोज्न काठमाडौं आउनुभएको हो । म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ । म जुन परिवारमा जन्मेँ, त्यही परिवारको भाषा, संस्कार, संस्कृति लगायत सबै कुराले मलाई स्वाभाविक रूपमा प्रभावित गर्ने नै भयो । तर, त्यतिले मात्र प्रभावित गरेन ।

काठमाडौं भित्रका तमाम संस्कृति र जात्रापर्वले पनि मलाई उत्तिकै प्रभावित गरे । सानोमा दसैंका बेला मेरो घरअगाडि जब बाजा बज्थ्यो, म दौडेर हेर्न जान्थेँ । म भन्दा साना भाइबहिनी बाजा बजाउँदै, बाँसुरी बजाउँदै अगाडि बढिरहेको देख्थेँ । अलि ठूलो भएपछि बुझ्दै जाँदा थाहा पाएँ, यहाँको कला, साहित्य, जात्रापर्व कुनै सरकारले जोगाएको होइन रहेछ । यहीँका रैथानेहरूको गुठीले जोगाएको रहेछ ।

यो जात्रापर्व सबै कुरा विस्तारै विस्तारै मलाई मेरैजस्तो लाग्न थाल्यो । म अहिले स–साना दुइटा छोरी यहीँ काठमाडौंमा हुर्काउँदैछु । उनीहरूलाई सबै जात्रापर्वमा लिएर जान्छु । मच्छिन्द्रनाथको जात्रामा लिएर जान्छु, इन्द्रजात्रामा लिएर जान्छु र भन्छु, यो नै हो हाम्रो शान, यो नै हो हाम्रो सभ्यता, यो नै हो हाम्रो परिचय र यो नै हो हाम्रो अस्तित्व । राजा–महाराजालाई मात्र होइन, हामीजस्तो एउटा सामान्य नागरिकलाई पनि काठमाडौंले बस्न दियो । काठमाडौंले बाँच्न दिया । हामीलाई आफ्नो इतिहाससँग, सभ्यतासँग जोडिने ठाउँ दियो ।

सम्माननीय प्रधानमन्त्रीज्यू, म जस्तै तपाईं पनि झापाबाट आउनुभएको हो । मलाई जस्तै तपाईंलाई पनि काठमाडौंले माया गरेको छ । मलाई जस्तै काठमाडौंले तपाईंलाई पनि आफ्नै ठानेको छ । काठमाडौंले हामीलाई आफ्नो ठान्ने अनि हामीले काठमाडौंको परिचय र पहिचानलाई आफ्नो ठान्न नपर्ने ?

तपाईंले काठमाडौंसँग जे गर्नुभएको छ, त्यो गर्ने अधिकार तपाईं राख्नुहुन्छ ? राख्नुहुन्न । त्यसैले, प्रधानमन्त्रीज्यू, आज काठमाडौं छिर्ना साथ मलाई काठमाडौं बासीले के भने भनेर उहाँले सोध्नुभयो रे । उहाँको साथीले भन्नुभयो रे, ‘भाजुला बेइमान खनी ।’ अर्थात्, ज्वाईं त बेइमान रहेछ भनेर प्रधानमन्त्रीलाई सुनायो रे ।

यो सरकारसँग दुईतिहाइ बहुमत छ । जनताको मतबाट आएको, विरासतबाट होइन । भोलि अर्को सरकारसँग तीनचौथाइ पनि होला । कोही अर्को सरकारसँग पूरापूर पनि होला । यसको अर्थ मनपरि आफूले चाहेको कानुन बनाउने होइन । यसका पछाडि संविधान छ । जनभावना छ । के भन्छ जनभावनाले ?

यत्रो परिवर्तनपछि आएको सरकारले गर्नुपर्ने काम एउटै गर्दैन । नगर्नुपर्ने काम सबै गर्छ । संविधानले स्पष्टसँग भन्छ– गुठीबारे कुनै पनि कानुन बनाउनुछ भने गुठीको मूलभूत मान्यतालाई तिमी चलाउन पाउँदैनौं । यो संविधानले भन्छ– सनातनदेखि चलिएको संस्कृति रक्षा गर्नु तिम्रो दायित्व हो, यसलाई तिमी चलाउन पाउँदैनौ । सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंसँग संख्याको तागत छ ।

तर, तपाईंसँग भएको संख्याको तागतले तपाईं संविधान नाघ्न पाउनुहुन्न । संविधानको सीमाभित्र बसेर जनभावना मानेर मात्र कानुन बनाउने अधिकार तपाईंको संख्याले राख्छ ।
तपाईं के को आधारमा संसदमा विधेयक प्रस्तुत गर्दै हुनुहुन्छ ? प्रधानमन्त्रीका साथीहरू भन्नुहुन्छ, विधेयक आएकै छैन, विधेयक बल्ल आउँदैछ, संसदभित्र आइसकेपछि यसबारे छलफल हुन सक्छ ।

हामीलाई पनि संसदको परम्परा थाहा छ । तपाईं जे नियतबाट यो विधेयक ल्याउँदै हुनुहुन्छ, संसदभित्र छलफलबाट सच्याउने मनसुवा राखेर ल्याउनुभएको छैन । त्यसैले, आज सडकमा आएर तपाईंलाई प्रश्न गर्नु, खबरदारी गर्नु हाम्रो कर्तव्य भएको छ । काठमाडौं बाहिर दाङमा, सिन्धुपाल्चोकमा केही किसान साथीहरू आन्दोलनमा आउनुभएको छ । काठमाडौंको गुठीको आफ्नो महत्व छ । यो नेपाल भन्ने देश अस्तित्वमा आउनुभन्दा पहिलेदेखि यो अस्तित्वमा छ । यो नशाजस्तै हो, शरीरसँग जोडिएको ।

योसँग अलग रहेर यहाँको रैथाने सभ्यता र संस्कृति केही बाँकी रहँदैन। काठमाडौंबाहिर अर्कै खालको अवस्था पनि छ । कतिपय ठाउँका किसान मर्कामा पनि छन् । यी सबै विषयमा छलफल गर्न सकिन्छ । सरकारले के अध्ययन गरेको छ ? कति ठाउँमा कुतसमेत तिर्न नसकेका किसान छन् ।

जसले गुठीको जग्गाको भोगचलन गरेका छन्, आज सरकारले बनाएको यो कानुनबाट ती किसानले एक इन्च जमिन पाउनेवाला छ ? म यो ठाउँबाट कांग्रेसका तर्फबाट दाङको सडकमा आउनुभएका साथीहरूलाई भन्न चाहन्छु, सिन्धुपाल्चोकका किसानलाई भन्न चाहन्छु, कोही काठमाडौंबासी वा कांग्रेस किसानको विपक्षमा छैन । किसानले पाउने अधिकार निम्ति सरकारसँग अरू बाटाहरू छन् ।

अरू विकल्प छ । ती अरू बाटो र विकल्पबाट किसानलाई हकअधिकार दिन सकिन्छ । तर, कोही किसान नझुक्किनुस्, यो विधेयक कोही किसानका निम्ति आएको होइन ।

यो बाटोबाट अन्तिममा हुने भनेको, जसरी हिजो बुटवलका सुकुम्बासी झुक्किए, बुटवलका सुकुम्बासीले बालुवाटारको जग्गा पाएजस्तै त्यही नक्कली सुकुम्बासीले पाउँछ । यहाँभित्रका गुठीबाट केही बफादारलाई पोस्ने, केही यारहरूलाई पोस्ने, केही आफ्ना साथीहरूलाई पोस्ने, केही आफ्ना माफियाहरूलाई पोस्ने नियतले मात्र यो विधेयक आएको छ । जनतालाई जनतासँग भिडाउने कुत्सित नियत यो सरकारले राखेको छ ।

यसलाई पनि बेलैमा चिर्न आवश्यक छ । म तमाम काठमाडौंबासीका बाहिरी जिल्लाका तमाम किसान साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूलाई झुक्याइँदै छ । तपाईंलाई जग्गा दिन यो विधेयक ल्याइएको होइन, आफ्नो परिवारलाई पोस्न हो । आफ्नो यारलाई, आफ्नो साथीलाई, माफियालाई पोस्न हो ।

यो कुरा बुझ्न म आग्रह गर्छु । प्रधानमन्त्रीज्यूले आज विमानस्थलमा ओर्लदै गर्दा भन्नुभएछ– कसै–कसैले चान्स मार्ने भन्ठानेका थिए होलान्, म आइसकेँ अब चान्स मार्नु पर्दैन । प्रधानमन्त्रीज्यू, चान्स मार्ने तपाईंको जस्तो बानी हाम्रो छैन । हामी कहीँ पनि आगो बाल्न चाहँदैनौं ।

हिजो तपाईं मधेसमा आगो बाल्न जानुभयो, पानी लिएर जाने हामी नै हो । तपाईंका साथीहरू हिजो नेपालमा संघीयताको आन्दोलन हुँदै गर्दा सबैलाई राज्य बाँड्दै हिँड्नुभो, पानी हाल्ने हामी नै हो । हामी कहीँ पनि आगो बाल्न जान चाहँदैनौं । हामी अहिले पनि आगो बाल्न चाहँदैनौं ।

समय छ प्रधानमन्त्रीज्यू, अहिले पनि समय छ । स्थगित गर्ने होइन, यो विधेयक फिर्ता लिएर जानुस् । फिर्ता गरेपछि छलफल हुन्छ । सबै ठाउँमा बसेर छलफल हुन्छ । सरोकारवालाहरू राखेर छलफल हुन्छ । आज तपाईंको पार्टीको एक जना सांसदले भन्नुभयो, जो जो यो विधेयकको विपक्षमा छन्, ती सबै सामन्ती हुन् । अर्को सांसदले भन्नुभयो, यो विधेयकको विपक्षमा जो जो छन् ती राजावादी हुन् ।

तपाईंको अर्को सांसदले भन्नुभयो, यो विधेयकको विपक्षमा जो जो मान्छे आएका छन्, ती सबै भाडामा ल्याइएका हुन् । प्रधानमन्त्रीज्यू, धेरै नजिस्क्याउनुस्, काठमाडौंका जति पनि जनता सडकमा ओर्लिएका छन्, ती सरकारी घ्यू खाएका सरकारी अरिंगाल होइनन् ।

यी मनमनमा आफ्नो संस्कृतिका लागि, सम्पदाका लागि, सभ्यता र अस्तित्वका लागि सबै सीमा नाघेर आफ्नो जीवन आहुति दिन तत्पर भएर आएका जनता हुन् । त्यसैले, सत्यमोहन जोशीले तपाईंलाई दिएको सुझाव सुन्नुस्, बेलैमा सुन्नुस् । नजिस्क्याउनुस् काठमाडौंलाई । काठमाडौंले माया गर्न जानेको छ। तपाईं, हामीलाई माया गरेको छ । तर, काठमाडौं रिसायो भने यसले भष्म पनि गर्न जानेको छ ।

 

Loading...