विसाक्त रसाइन खुवाएर मारिएपछि मात्र खुल्यो किम जोङ उनका सौतेनी दाइ सीआईएका सुराकी थिए

एजेन्सी । सन् २०१७ मा मलेशियाको राजधानी क्वालालम्पुरमा विसाक्त रासायनिक पदार्थ प्रयोग गरी हत्या गरिएका उत्तर कोरियाली सर्वोच्च नेताका सौतेनी दाजु अमेरिकी जासुसी निकाय सीआईएका सुराकी रहेको खुलासा भएको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम सीआईएको सुराकी रहेको खुलासा गरेको हो ।

वाल स्ट्रिट जर्नलले ‘यस विषयमा जानकार व्यक्ति’ लाई उद्धृत गर्दै जनाएअनुसार किम जोङ नाम र सीआईएबीच ‘सम्बन्ध’ रहेको उल्लेख गरेको छ । यद्यपि उनले सीआईएलाई कस्तो जानकारी उपलब्ध गराउँथे भन्ने विषयमा भने अखबारले केही उल्लेख गरेको छैन ।

निकै लामो समयदेखि उत्तर कोरियाबाहिर चीनमा बस्दै आएको तथा उत्तर कोरियामा कुनै राजनीतिक प्रभाव नरहेका कारण उनीसँग कुनै विशेष सूचना रहेकोमा भने आशंका रहेको जर्नलले लेखेको छ ।

यद्यपि सीआईएका केही पूर्व वरिष्ठ अधिकारीले भने उनी सीआईएको सुराकी रहेको ‘करिब निश्चित’ रहेको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार किम जोङ नामले आफ्नो सुराकी दिनका लागि नियमित रुपमा सिङ्गापुर र मलेशियाको भ्रमण गर्ने गरेका थिए । उनको हत्या भएको दिन पनि उनले मलेशियाको एक होटेलमा सीआईएका जासुस रहेको भनी विश्वास गरिने एक एशियाली मूलका व्यक्तिसँग भेटघाट गरेका बताइएको छ । त्यसबेला उनले ती जासुससँग १ लाख २० हजार अमेरिकी डलर लिएको बताइएको छ ।

किम जोङ नामको सन् २०१७ मा क्वालालम्पुरको विमानस्थलमा भीएक्स नर्भ नामक विशाक्त रासायनिक पदार्थको प्रयोग गरी हत्या गरिएको थियो । जापानी रियालिटी टेलिभिजनका लागि प्र्याङ्क गर्न भन्दै उत्तर कोरियाली जासुसहरुले एक भियतनामी तथा अर्की इण्डोनेशियाली युवतीलाई उक्त विसाक्त रासायनिक पदार्थ किम जोङ नामको अनुहारमा दल्न लगाएका थिए । अनुहारमा विसाक्त पदार्थ दलिएको केही समयपछि नै उनको मृत्यु भएको थियो ।

अमेरिका र दक्षिण कोरियाले उनको हत्यामा उत्तर कोरियाली सरकारको हात रहेको बताउँदै आएका छन् । उनको हत्यामा संलग्न रहेको भनी आरोप लागेका दुबै युवतीलाई मलेशियाले रिहा गरिसकेको छ ।

Loading...