पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ


एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अधिकारीहरूले पूर्वराष्ट्रपति जरदारीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरेका हुन् ।

उता, जरदारीको दल पाकिस्तान पिपल्स पार्टीले सरकारमाथि राजनीतिक बदलाको भावनाले काम गरेको आरोप लगाएको छ ।

जरदारी हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका श्रीमान् हुन् र उनले भ्रष्टाचारकै अभियोगमा विगतमा पनि कैयौँ वर्ष जेलमा बिताइसकेका छन् ।

यसअघि जरदारी तथा उनकी बहिनी फर्याल तालपुरले गरेको अग्रिम जमानतको निवेदन इस्लामावाद उच्च अदालतले अस्वीकार गरिदिएको थियो ।

देशको भ्रष्टाचार विरोधी एक निकाय, न्याश्नल अकाउन्टेबिलिटी ब्युरो,का अनुसार दशौँ लाख डलर सम्पत्ति शुद्धीकरण गर्न दर्जनौँ झूटा एकाउन्ट खोलिएका थिए ।

जरदारीका छोरा बिलावल भुट्टोले आफ्ना कार्यकर्ताहरूलाई शान्त रहन अपील गरेका छन् ।

जरदारी सन् २००८ देखि सन् २०१३ सम्म पाकिस्तानका राष्ट्रपति भएका थिए ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानीहरूलाई उनीहरूका लुकाइएका सम्पत्ति घोषणा गरी कर तिरेर अर्थतन्त्रलाई सघाउन अपील गरेका थिए।

पाकिस्तान विश्वम एकदमै कम कर संकलन दर भएको देशमध्येको एक हो, जहाँ केवल एक प्रतिशत मानिसले कर तिर्छन् ।

त्यहाँ अहिले विदेशी मुद्राको सञ्चिति केवल ८ अर्ब डलर रहेको छ, जसले दुई महिनाको आयात मात्र धान्न सक्नेछ।

Loading...