भक्तपुर। सरकारले महत्वको साथ् सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को भक्तपुरमा शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार एक कार्यक्रमका बीच बेरोजगार युवालाई सावेल दिदै उक्त कार्यक्रम शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ भनेर प्रश्न गर्नेहरुलाई कामले उत्तर दिन आफू लागिपरेको जिकिर गरे । उनले विपक्षीलाई बोलेर भन्दा पनि काम गरेर जवाफ दिने बताउदै बेरोजगार युवालाई सरकारले घर-घर पुगेर रोजगारी दिने दावी गरे ।
” कतिपयले ४० लाख नेपाली युवा विदेशमा भौतारिरहदा सरकार के हेरेर बसेको छ भन्ने प्रश्न गर्छन तर यो सरकारले युवालाई विदेश पठाएको छैन र सरकार हेरेर बसेको पनि छैन, सरकार त्यस समस्याको समाधान खोजेर बसेको छ ।” उनले भने ।’
नेपाललाई बेरोजगारहरुको देश रहन नदिने र रोजगारीको लागि युवा सप्लाई गर्ने नभई अन्य मुलुकका युवा नेपालमा ल्याई काम गर्ने वातावरण बनाउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता प्रकट गरे । सरकारले गरेको राम्रो काम देखेर विपक्षीले रीस गरेको पनि उनको आरोप रहेको छ ।
एक फरक प्रशंगमा उनले राप्रपा नेपाल लगायत राजावादीहरुलाई लक्षित गर्दै नेपाललाई गरिब बनाएर २०४ बर्षसम्म शासनगर्ने राजतन्त्र चाहियो भन्ने मुर्खहरु देख्दा आफूलाई उदेक लाग्ने बताए ।”लठेब्रो भएपनि जन्मिदै शासक हुनपाउनुपर्छ भन्ने कुराका पछाडि लाग्नु भनेको पछाडी फर्कनु हो । नेपाललाइ पछाडी फर्काउने कल्पना समेत गर्नु हुदैन ।” उनले स्पष्ट पारे ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ नेकपाको मात्र कार्यक्रम नभएको भन्दै सबैले यसमा सहभागी भएर अवसरको लाभ लिनुपर्ने बताए भने भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश बस्नेतले यस्ता कार्यक्रम एक युगमा एक चोटी आउने खाले कार्यक्रम भएको भन्दै यसलाई सबै मिलि सफल बनाउनु पर्ने र अन्तराष्ट्रिय रुपमै उदाहरणीय बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । पहिलो चरणमा करीव १ हजार ५ सयले रोजगारीका लागि आवेदन दिएका जानकारी प्राप्त भएको छ । कार्यक्रम सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको अध्यक्षतामा भएको थियो भने चागुका प्रमुख सोम मिश्रले संचालन र मथ्यपुर थिमीका प्रमुख मदन सुन्दर श्रेष्ठको स्वागत मन्तब्य राखेका थिए । भक्तपुर नगरपालिकाको भने शुभारम्भ कार्यक्रममा सहभागिता देखिएन ।