डोल्पामा यार्सा संकलन गर्न गएका ८ जनाको मृत्यु

जाजरकोट, २३ जेठ । यार्सागुम्वा संकलन गरेर पैसा कमाउन डोल्पा पुगेका आठ जनाको मृत्यु भएको छ । डोल्पाका विभिन्न ठाउँमा यार्सा संकलन गरिरहेकाहरुमध्ये दुई हप्ताकै बीचमा ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीगुफामा पुगेका जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमाका २२ वर्षीय रमेश चलाउनेको मृत्यु भएको छ । उनको जेठ १७ गते लेक लागेर मृत्यु भएको उनीसँगै गएका आफन्तले बताएका छन् । त्यसैगरी जाजरकोट बारेकोट गाउँपालिका वार्ड नं. १ का १८ वर्षीय कृष्ण विकको पनि जेठ १८ गते नै लेक लागेर मृत्यु भएको छ ।

यार्सा संकलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ । यस्तै जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे यही जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

त्यसैगरी डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको यही जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा यही जेठ २० गते लेक लागेर मृत्यु भएको थियो ।

जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै यही जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो ।

यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

Loading...