एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गयो

एजेन्सी । अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ । घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । ती व्यक्ति एक्लैले पाँचै स्थानमा गोली चलाएको प्रहरीले अनुमान गरेको छ । उनले स्थानीय मोटेल तथा बारहरुमा आक्रमण गरेका हुन् ।

प्रधानमन्त्री स्कट मोरिसन गोलीकाण्ड आतंककारी घटना नरहेको बताएका छन् । सन् १९९६ मा अस्ट्रेलियाले बन्दुक सम्बन्धी कानून कडा बनाएपछि सार्वजनिक स्थानमा हुने अन्धाधुन्ध गोली प्रहारका घटनामा कमी आएको थियो । मंगलबार बेलुका भएका घटनाहरु निकै कम हुने घटनामा पर्छन् ।

गएको जनवरीदेखि पेरोलमा रहेका आरोपित आक्रमणकारीले झण्डै २० राउण्ड गोली चलाएको बताइन्छ । ती व्यक्तिले स्थानीय मोटेल तथा बारमा पसेर अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Loading...