विश्वकपमा श्रीलंकाको कठिन जित, अफगानिस्तान अझै जित बिहिन

विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानमाथि कठिन जित हात पारेको छ । कार्डिफमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवोर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६।५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर मात्रै बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाउन बाहेक अन्य खेलाडीले रन बनाउन सकेनन् ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । डकवोर्थ लुइस नियमका आधारमा अफगानिस्तानले १८७ रनको लक्ष पाएको थियो । सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२।४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका नुवान प्रदीपले ३१ रन खर्चेर चार विकेट लिए । लासिथ मालिंगाले तीन विकेट लिए । आफ्नो वन डे करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच भए ।