नेपाली सेनाका एक उच्च पदस्थ कमान्डर कारागार चलान

काठमाडौं, ११ जेठ । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् ।

उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् । नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बताएको छ । जंगीअड्डा स्रोतका अनुसार कालिसिद्धी गणमा कार्यरत रहँदा कार्कीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको करीब ५० लाख रकम अनियमितता गरेको भन्दै परेको उजुरी उपर अनुसन्धान हुँदा कोर्ट मार्सलको सिफारिस भएपछी जनरल समरी सैनिक अदालत गठन भै कार्कीलाई दोषी करार गर्दै फैसला सुनाएको थियो ।

कार्कीले आर्थिक अनियमितता गरेको उपर बैशाखमा उजुरी परेको थियो । उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेपछि वैशाखमा २३ गते समरी जनरल सैनिक अदालत गठन भएको थियो । शुक्रवार उक्त सैनिक अदालतले गरेको फैसला उपर चित्त नबुझे कार्की ३५ दिनभित्र बिशेष अदालत जान पाउने कानुनी प्रावधान रहेको छ ।