मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे ।

आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले बतायो । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि दिउँसो आपूर्ति मन्त्रालयमै लफडा भएको हो ।

मन्त्रालयले मापदण्ड नबनाइ पदस्थापन गरेको र निजी सचिव आचार्यले घूस खाएको आरोपसहित उनको कार्यकक्षमा पुगेका कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवालको नेतृत्वको टोलीबीच विवाद भएको थियो।

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्यमाथि आरोप लागेपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए। मन्त्री यादवले भनेका थिए, ‘झगडा गर्ने को हो, घूस खाको भन्ने को हो ? प्रमाण के छ, पुष्टि गर। नत्र यहीं थुन्छु।’

मन्त्री यादवले ढोका लगाउन निर्देशन दिएसँगै करिब एक दर्जनको संख्यामा रहेका कर्मचारीहरु भागभाग गरे। त्यही बेला मन्त्री यादव कर्मचारीहरुको कठालो समाउन पुगे । मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।

गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत आर्जुन राईलाई अध्ययन विदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

यसैबीच कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना कर्मचारीमाथि हातपात गरेको आरोप लगाएको छ । युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले मापदण्ड बिना आर्थिक चलखेलमा कर्मचारी सरुवा गरेको सन्दर्भमा निजी सचिवसँग कुरा गर्न जाँदा मन्त्री बाहिरै आएर आक्रमण गरेको बताए ।

ढोका थुनेर आक्रमण गरेपछि हात हालाहाल भएको र त्यसक्रममा आफ्ना दुईजना साथी घाइते भएको उनले बताए । यसअघि, यादव वनमन्त्रीभएका बेला ललितपुरका स्थानीय विकास अधिकारी डण्डुराज घिमिरेलाई ट्वाइलेटमा थुनेर चर्चामा आएका थिए ।

ललितपुरको सामुदायिक वनमा ढुङ्गा खानी सञ्चालन गर्न दिएको र त्यसलाई बन्द गर्न निर्देशन दिँदा नमानेको भन्दै मन्त्री यादवले स्थानीय विकास अधिकारी घिमिरेलाई शाैचालयमा थुनेका थिए।

मन्त्री यादव खरो स्वभावका व्यक्ति मानिन्छन् । कुनै कुरामा चित्त नबुझे तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएकाले उनी अलि रिसाहा नेता भनेर समेत चिनिन्छन् ।

स्वाभिमानमा चोट पर्ने खालका कुरा या आफूलाई डोमिनेसन फिल हुने खालका कुरा भएमा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने बानी भएपनि उनी मनका सफा र सोझा क्रान्तिकारी नेत भएको उनी निकटका नेताहरुले जनाउने गरेका छन् ।

Loading...