हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकाेमा प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा, १८ चैत । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

सोही बैठकमा विशेष समयमा बोल्नुहुने प्रदेशसभाका सदस्यहरुले नागढुङ्गा काठमाडौँको यातायात सेवा बढी चापका कारण अस्तव्यस्त भई सर्वसाधारणले निकै दुःख भोग्नु परेको स्मरण गर्दै प्रदेश सरकारले तत्कालै सो सडकको निर्माण कार्य पूरा गरी धुलो नियन्त्रण गर्नेतर्फ प्रयास गर्नुपर्ने सुझाव दिएका छन । उनले हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने सिस्नेरी र फाकेल सडक निर्माणलाई अग्रता दिन प्रदेश सरकारले छुट्टै कार्यदल बनाई उक्त सडकलाई फराकिलो पार्ने र ढल निकासको व्यवस्था गरी सवारी दुर्घटनालाई नियन्त्रण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले विशेष पहल गर्नुपर्ने आग्रह गरेका छन ।

प्रदेशसभा सदस्यहरुले प्रदेशअन्तर्गत रहेका ऐतिहासिक धरोहर र सम्पदालाई स्थानीय एवं सरकारी पक्षबाट मर्मतसम्भार र रेखदेख गर्न स्थानीय निकायलाई अधिकार प्रत्यायोजित गर्न प्रदेश सरकारले तत्काल गृहकार्य गरेर कार्यान्वयन गर्न सुझाव दिए । उनले दुर्गम भेगका जनतालाई खानेपानी, सडक निर्माण, ग्रामीण विद्युतीकरण तथा आयआर्जन गर्न फलपूmल एवं तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा सञ्चालनमा ल्याउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने माग गरे ।

विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यमा यज्ञराज सङ्ग्रौला, गणेशप्रसाद दुलाल, भीमसेन खत्री, केशवराज पाण्डे, सुरेन्द्रराज गोरसाई, जीवन खनाल, राजेशकाजी महर्जन, केशवप्रसाद पोखरेल, शोभा शाक्य, रमा आलेमगर, रीना गुरुङ, सृजना सैँजु, जीवन डङ्गोल, प्रेमबहादुर पुलामी, रीता माझी र डा राजाराम कार्की थिए । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल तथा सामाजिक विकासमन्त्री युवराज दुलालका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशभित्र सार्वजनिक लिखत प्रमाणीकरण गर्न बनेको विधेयक २०७५, सूचना हकको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशभित्र बालबालिकाको अधिकारको संरक्षण गर्न बनेको विधेयक २०७५, प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७५ सैद्धान्तिक छलफलका लागि प्रस्ताव टेबुल गरेका थिए ।

यसैगरी उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले प्रदेशमा कर तथा गैरकर सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ को पनि छलफलका लागि प्रस्ताव टेबुल गरेका थिए । ती विधेयकको प्रस्तावमा प्रदेशसभाका केही सदस्यले सैद्धान्तिक पक्षमा आ–आफ्नो धारणा व्यक्त गर्दै ती सुझावलाई चालू आवमा कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकारको प्रतिबद्धता आउनुपर्दछ भनेका छन । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले सदस्यहरुले उठाएका सुझावलाई आपूmले मार्गदर्शनका रुपमा लिएको छु भने । प्रदेशभित्र स्थापना गरिएका विभिन्न सिमेन्ट उद्योगबाट लिइने करमध्ये ६० प्रतिशत प्रदेश सरकारलाई र ४० प्रतिशत स्थानीय निकायलाई बाँडफाँडको विधेयकमा प्रस्तावना गरिएको बताए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

Loading...