प्रस्तावित भारतीय राष्ट्रिय रक्षा मन्त्रालय (इन्दु)सम्बन्धी विधेयक मस्यौदा सार्वजनिक भइसकेको छ । प्रस्तावित संस्थाबारे सिर्जनात्मक ढंगले सोच्ने भारतीय रक्षा विशेषज्ञका लागि सायद यो उपयुक्त समय हो । तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले सन् २०१३ मा गुरगाउँको विनोलामा पहिले रक्षा विश्वविद्यालय शिलान्यास गरेका थिए । त्यतिवेला इन्दुको स्थापना भइसकेपछि ‘रक्षासम्बन्धी उच्च शिक्षा अध्ययनका लागि यो विश्वस्तरको संस्था बन्ने र यसबारे जायज रूपमा गौरव गर्न सकिने’ आशा गरिएको थियो ।
भारतका उच्च शिक्षालयहरूको निराशाजनक अवस्थालाई हेर्दा यो निकै उच्च आकांक्षा हो । तैपनि, इन्दुको स्थापना गर्न पहिलो कदम चालिएको छ । यो परियोजना राष्ट्रिय बहसको एउटा मुद्दा बनिसकेको छ । विभिन्न समितिले राष्ट्रिय रक्षा विश्वविद्यालय स्थापना गर्न सुझाएको भए पनि सरकारले सो परियोजनामा ढिलासुस्ती गर्दै आइरहेको थियो । अन्तत: प्रक्रिया अगाडि बढेको छ ।
एक्काइसौँ शताब्दीमा हामीले सामना गरिरहेका रक्षासम्बन्धी चुनौतीको प्रकृतिले सैनिक अधिकारीको करिअरमा शिक्षाको उच्च महत्त्वमाथि जोड दिनुपर्ने माग गर्छ । सैनिक संगठनको मूल तागत भनेको यसको सही संयोजन हो । तर, के पनि सही हो भने आजको दुनियाँमा सैनिक तागतहरूले सिर्जना गर्ने चुनौती सामना गर्न सैनिक अधिकारी सूत्रीकृत निर्देशिकाभन्दा बाहिर स्वतन्त्र रूपमा सोच्नसक्ने पनि हुनुपर्छ
। यी चुनौतीका मुहान सामाजिक, आर्थिक र राजनीतिक तत्त्वहरू हुन्, जसले समग्र युद्ध र सुरक्षाको चरित्रलाई प्रभावित गर्छन् । यसको परिणामस्वरूप भारतमा व्यावसायिक सैनिक शिक्षाको स्तरलाई माथि उठाउन केन्द्रित हुन जरुरी भइसकेको छ ।
आधुनिक व्यावसायिक सैनिक शिक्षाले आधुनिक विश्वको सुरक्षाबारे सैनिक अधिकारीको सुझबुझलाई विकास गर्नुपर्छ । रक्षाको क्षेत्रमा हाल भइरहेका शोधहरू र यसको अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा अध्ययन, सैनिक इतिहास, युद्ध अध्ययन र कारबाहीगत अनुभवसितको सम्बन्धप्रति आलोचनात्मक दृष्टिकोण राख्नुपर्छ । समकालीन द्वन्द्वहरूबारे प्रणालीगत र चिन्तनशील बुझाइलाई प्रोत्साहित गरिनुपर्छ । आधारभूत बौद्धिक समस्याको पहिचान, मूल्यांकन र समाधान गर्दा पहल, सिर्जनशीलता र स्वतन्त्र चिन्तनलाई प्रवद्र्धन गरिनुपर्छ । खासगरी सञ्चार, सूचना प्रविधिको प्रयोग, संगठन र सिकाइ प्रक्रियाको व्यवस्थापनमा सान्दर्भिक हस्तान्तरणीय सीपको विकास गर्नुपर्छ ।
सैनिक सन्दर्भमा ज्ञानको विकास र प्रयोगबारे ख्याल गर्नुपर्ने एउटा कुरा के हो भने युद्धलाई धेरैजसो ‘विज्ञान’ भन्दा पनि ‘कला’को रूपमा लिने गरिन्छ । तर, युद्ध मूल रूपमा मानवीय र सामाजिक क्रियाकलाप हो । यससम्बन्धी केही बहसका बाबजुद, सबभन्दा धेरै सहमति केमा छ भने सैनिक मामिलासम्बन्धी विश्लेषणात्मक उपकरणहरू र मान्यताहरू भौतिक विज्ञानभन्दा पनि समाज विज्ञानबाट निश्रृत हुनुपर्छ । सरकार र समाजका लागि सैन्य बलहरूको मूल्य र उपयोगिता अमूर्त र सैद्धान्तिक विश्लेषणको गुणस्तरले निर्धारण हुनेछ । व्यावसायिक सैनिक शिक्षामा भारत अझै पछाडि परेको छ । जटिल सुरक्षा वातावरणमा काम गर्ने सक्षम सैनिक अधिकारीहरूको उत्पादन गर्ने हो भने भारतले यो अवस्थामा सुधार ल्याउनैपर्छ ।
शान्ति चाहनेले पनि युद्धका लागि तयारी गर्नैपर्छ । र युद्धका लागि सबभन्दा राम्ररी तयार हुनका लागि हामीले सबभन्दा पहिले यसलाई राम्ररी बुझ्नुपर्छ । उदीयमान रणनीतिक वातावरणमा ज्ञानको भूगोल थाहा पाउनु विगतमा रणमैदानको जमिनी भूगोल थाहा पाएजस्तै महत्त्वपूर्ण छ ।
भारतीय सेनाले स्वतन्त्र रणनीतिक चिन्तनको संस्कृति विकास गर्नैपर्छ । जसले गर्दा सिपाहीले राष्ट्रिय सुरक्षाका विविध आयामबारे बुझ्न सकून् । यदि व्यावसायिक रूपमा नेतृत्व गरिए, इन्दुले त्यो लक्ष्य हासिल गर्न सघाउनेछ । भारतीय राज्य सञ्चालन कलाका लागि आवश्यक वैचारिक आधार प्रदान गर्ने संस्थाको रूपमा इन्दुलाई विकास गर्ने हो भने सरकारले परम्परागत सैनिक–नोकरशाही तन्त्रभन्दा पर गएर बृहत्तर प्राज्ञिक क्षेत्रमा रहेका सर्वोत्कृष्ट जनशक्तिलाई त्यहाँ ल्याउनुपर्छ । अति राजनीतिक हस्तक्षेप, नोकरशाही, ढिलासुस्ती र विभिन्न सेवाबीचको आपसी झमेला आदिले यसलाई निम्न स्तरको संस्थामा बदल्नेछन् । थुसिडाइडले एकपटक भनेका थिए, ‘प्राज्ञ र योद्धाहरूबीच ठूलो फरक छुट्याउने राष्ट्रमा चिन्तन कायरहरूले गर्नेछन् र युद्ध मूर्खहरूले लड्नेछन् ।’ यस्तो भयो भने यो विडम्बना हुनेछ ।
(लेखक लन्डनस्थित किङ्स कलेजको रक्षा विभागमा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक हुन्)