तिमी मलाई फूल बनाएर
आफ्नो कोटको खल्तीमा सजाउन चाहन्छौ
र भन्न चाहन्छौ कि
मेरो कोटको खल्तीमा सजिन पाउनु
तिम्रो ठूलो अहोभाग्य हो
तिमी मलाई जून बनाएर
आफ्नो जिन्दगीको आँगनमा
छर्न चाहन्छौ शीतलताको उज्यालो
र मलाई बनाउन चाहन्छौ बत्ती मुनिको अँध्यारो
अनेक बिम्ब उपमा र अलंकार रस घोलेर
तिमी मलाई बनाउन चाहन्छौ
आफ्नो कुटिल स्वार्थको जुस
र मेट्न चाहन्छौ आफ्नो गिद्दे आँखाको प्यास
तिमी चाहन्छौ कि
तिम्रो आदेशलाई आदर्श मानेर
म लुरुलुरु नापिरहूँ जिन्दगीको गल्ली .
बेखबर … गुमनाम र लाचार
र थापूँ तिम्रोसामु दयाको बटुको
हो मलाई राम्रोसँग थाहा भइसक्यो
तिमी चाहन्छौ कि
कहिले नउदाओस् मेरो चेतनाको घाम
सुतिरहूँ म भयको निद्रा सधैंभरि
र जन्मजात दृष्टिविहीनलाई
कहिले थाहा नभएजस्तै प्रकाशको करिश्मा
मलाई पनि थाहा नहोस्
ममाथिको तिम्रो जालझेलको खुनी खेल
तर
अब मैले देखिसकेको छु
मेरो अस्तित्वको छाति ताकेर आएको
तिम्रो मीठो बोलीमा लुकेको गोली
मैले बुझिसकेकाे छु
मलाई बिरालो बनाएर
आफू सधैं बाघ हुने तिम्रो ढोंग
अब महाशय अब म तिमीलाई दिन चाहन्छु
विचारको मैदानमा भिड्न खुलेआम लाप्पाको निम्तो
तिम्रा प्रत्येक अपमानको लातविरुद्ध
दिन चाहन्छु आत्मसम्मानको मुड्कीको जवाफ…
अनि बल्ल जानेछ कहिले नफर्किने गरि
अरुलाई कुल्चिने तिम्रो अपराधी मनको साताे….