नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन ।
हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम मानव अंकुरणको मिर्मिरेदेखि नै प्रारम्भ भएको कुरामा कसैको दुई मत छैन । जसको वर्णनमै कैयौ दार्शनिक, कवि, लेखक मात्र जन्मेनन् थुपै्र कथा, कविता, उपन्यास र काव्यहरुको जन्मसँगै अनगिन्ति चलचित्रहरु पनि यसकै सेरोफेरोलाई आधार मानेर बने । प्रेम यति असीमित र अपरम्पार रहेछ कि जसलाई न कसैले सीमित परिभाषामा समेट्न सके न त कसैले गर्न सके प्रेम विनाको संसारको परिकल्पना नै । प्रेम हरेक प्राणीमा स्वस्फूर्त उत्पन्न हुने एक सकारात्मक भावना नै हो जसले केवल समर्पणको भावलाई मात्र अंगिकार गरेको हुन्छ । निस्वार्थ र निष्फिक्री रुपमा त्याग र समर्पणको निश्चलताबाट उत्पन्न हुने निसन्देह मानवीय भाव नै साँचो प्रेम हो भन्न सकिन्छ ।
तत्कालीन रोमन साम्राज्यका पादरी सेन्ट भ्यालेन्टाइनलाई इस्वी संवत् २७० फेब्रुअरी १४ मा सम्राट क्लाडियसले प्रेम गरेकै कारण मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे (प्रणय दिवस) मनाउने चलन चल्दै आएको छ । प्रेमको समग्रतामा विश्व नै सहमत भए पनि समयक्रम अनुसार बदलिदै गएको परिवेशमा यसलाई मनाउने तौर तरिकामा भने नेपाली समाज पनि दुई खेमामा विभाजित छ । सबैले भ्यालेन्टाइनको पक्ष र विपक्षमा आफ्ना धारणा राख्दै आइरहेका छन् । केहीले वर्षौसम्म मनका भावना साट्ने उपयुक्त अवसरसँगै सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास गर्दै एकदिन भए पनि उत्सवकै रुपमा मनाउन पाउनुलाई सौभाग्यको रुपमा लिएता पनि प्रेम दैनिक जीवनमै हुने र यसको लागि कुनै दिन कुर्नु नपर्ने भन्दै दिनप्रतिदिन मौलाइरहेको विदेशी संस्कृति र यसको विकृत्तिलाई अंगाल्न नहुने तर्क राख्नेको पनि कमि छैन यहाँ ।
आखिर जसले जे भने पनि प्रेम गरेकै कारण मृत्युदण्डलाई पनि मुस्कुराउँदै सहर्ष स्वीकार गर्ने महान भ्यालेन्टाइनको आदर्श प्रेमको जति प्रशंसा गरे पनि कमै हुन्छ । अस्तित्वमा रहन, सही पहिचान गर्न र बदल्न चाहे आफू होस् या संसार नै किन नहोस् प्रेम अनिवार्य छ । वास्तवमा प्रेम नै प्रेमको विकल्प हो र अन्तिम सत्य पनि ।
आउनुहोस्, प्रेमलाई वासनाको माध्यम ठान्ने र यसैको आवरणमा प्रेमको गला निमोठ्ने आधुनिक भ्रमित युवा जनमासलाई गतिलो सबक सिकाउन एक प्रेमीले आफ्नी भ्यालेन्टाइनलाई सोही दिनमै लेखेको सहर्स समर्पणको यथार्थ प्रेमपत्र :
प्रिय भ्यालेन्टाइन,
असिम माया ।
सुरुमै प्रिय भनेर सम्बोधन गरेँ माफी चाहन्छु । मलाई त्यो अधिकार छैन अब । तिमीलाई अचम्म लागिरहेको होला यो के चिठी होला भनेर ? मलाई पनि त्यस्तै लागिरहेको छ । खैर यो प्रेम पत्र नै हो । सुरुमा होस् या अन्तमा ।
मलाई भन्नु त केही छैन । तर पनि यो मन सम्हाल्नै सकिनँ आज भ्यालेन्टाइन, हाम्रो सम्बन्धको सुरु र अन्त्य एकैनासबाट गरुँ लाग्यो ।
तिमी राम्री छौँ । हसिलो–गोलो अनुहार, सलक्क मिलेको जिउडाल, एकनासका दन्त लहर, कमल अंग, मिजासिलो स्वभाव अनि मायालु बोली सायद भगवानले त्यो भाग्यमानीकै लागि बनाएको हुनुपर्छ ।
तिमी मेरो पहिलो र अन्तिम प्रेम हौ । मैले यसअघि प्रेमको अनुभूति कहिल्यै गरेको थिइनँ । यति पीडादायक हुन्छ भन्ने थाहा पाएको भए गर्ने पनि थिइनँ । गर्दिनँ पनि । प्रेमको कखरा तिमीबाटै सिकेँ । परिपक्व नहुँदै यो अवस्था आउँछ भन्ने कल्पनै थिएन । मैले तिमीलाई पाउन चुनौती पनि निकै थिए । त्यसलाई मैले राम्रोसँग बुझेको थिएँ । त्यसका बावजुत पनि मेरो जीवन हाँसीखुसी झुपडीमै भए पनि तिमीसँगै बिताउने निर्णय गरिसकेको थिएँ । तिमीविना बाँच्नुको अर्थ छ जस्तो लाग्दैन थियो मलाई ।
हेर, मेरो कमजोरी भनौँ या जे भनौँ म हरेक कुरा तिमीलाई शेयर नगरी बस्नै सक्दैन थिएँ । तिमी बाहेक मेरो अरु थियो को नै ? त्यसैले नगरौँ पनि कसरी ? मलाई सबैभन्दा बढी कसैले बुझ्छ भने त्यो तिमी नै हौ । मैले तिमीसँग केही लुकाउन सक्दैन थेँ । सायद त्यही मेरो जीवनमा सबैभन्दा ठूलो भूल भएजस्तो लाग्छ ।
प्रिय ! म तिमीलाई जीवनभर माया गरिरहने छु । राम्रो फूल देख्दा टिप्न मन लाग्छ । आफ्नै बगैँचामा हुर्काउन मन लाग्छ । यो मानवीय स्वभावै हो । त्यो मैले राम्रोसँग बुझेको छु । म पनि त यही संसारको एक प्राणी न हुँ जो स्वार्थलाई आफ्नो जन्मसिद्ध गुणको रुपमा बोकेको छु । मेरो पनि स्वार्थी मन हो । सोचेँ, तिमीलाई नपाएर दु:खी होइन । तिम्रो भावना बुझ्न नसक्नेले प्रेमी हुने नैतिक हक राख्दैन । हुन पनि सक्दैन । साँचो प्रेम पाउनु मात्र होइन ….. तिम्रो इच्छा विपरीत कुनै पनि निर्णय लिन्नथेँ । तिमीलाई गुमाउनुभन्दा ठूलो निर्णय के हुन्थ्यो र ? त्यो त अवश्यभावी नै रहेछ आखिर होइन र ?
हुन त साँचो र चोखो प्रेमको कहिल्यै सुखद अन्त्य हुँदैन । रोमियो–जुलिएट, लैला–मैजुन, मुना–मदनको प्रेमकथा थाहै होला । मेरो तिमीलाई केही गुनासो छैन । भाग्यभन्दा बढी र समयभन्दा अगाडि संसारमा कसैले केही पाउँदैनन् । यो नै मेरो घायल मनलाई मलमपट्टी लगाउने एकमात्र अस्त्र हो ।
जे भए नि अब हाम्रो भेट हुँदैन होला । गन्तब्य नै फरक भएपछि सँगै यात्रा होस् पनि कसरी ? जहाँ रहे पनि खुसी रहनु । जे भयो सपना सम्झनु । मेरो अभाव त तिमीलाई पर्दैन होला, तर तिम्रो अभाव मलाई सधैँ खट्किरहने छ । तिमीसँग बिताएका पलहरुले सताइरहेका छन् । मेरो कोही छैन । थाकिसकेँ । तिम्रो मायामा गलिसकेको रहेछु । वानी बिग्रिएछ । निन्द्रा लाग्दैन । बेचैन हुन्छु । बर्बराउँछु, उठ्छु । यताउती डुल्छु । के खोज्छु ? कसलाई खोज्छु ? आफैलाई थाहा हुँदैन । तिमीबाट छुट्टिदाको पीडा कति भइरहेको छ शब्दमा कसरी भनुँ ? … कति सपना थिए, दिनहरु गन्दै थिएँ । तर रित्तो भएर फर्किदै छु आज ।
सायद अब तिम्रो चाँडै बिहे हुन्छ होला । हाम्रो सम्बन्धको बारेमा उसले थाहा नपाओस्, जसले गर्दा तिमीलाई नराम्रो गर्न सक्छ । मैले तिम्रै खुसीको लागि उसलाई सुम्पिदिएको छु । म र समय सधैँ एकनास नहुन सक्छ । पराई घरमा धेरै कुरा मिलाउनु पर्छ । हाम्रा धेरै सत्रुहरु छन् । शिर झुकाउने काम कहिल्यै नगर्नु । दुनियाँ रमिते छ । तिमी मेरो साधमा नभए पनि म बाँचुञ्जेल तिम्रै साथमा छु । अब हाम्रो जीवनको बाटै मोडिएको छ । म आफूलाई सम्हाल्ने कोशिस गर्नेछु । म कसरी भनुँ यो चिठी लेखुन्जेल म कसरी सम्हालिएको छु थाहा छैन । पीडाभित्र पनि बेग्लै आनन्द हुने रहेछ ।
अन्तमा, हाम्रो चोखो प्रेमले अन्तिम सास फेरिरहेको छ । सायद तिम्रो आज्ञाको पखाईमा उसलाई गाह्रो भइरहेको हुनसक्छ । मलाई विश्वास छ तिमीबाट कहिल्यै भूल हुने छैन । हाम्रो सम्बन्धको अवधिभर मैले तिमीलाई धेरै रुवाएको छु । निर्दोष आत्मालाई धेरै नीच भएर गाली गरेको छु । मैले जति पश्चाताप र क्षमायाचना गरे पनि कमै हुन्छ । सक्छौ भने मलाई माफ गरिदिनु । अब म कहिल्यै तिमीलाई रुवाउन आउने छैन । अस्तु ।
उही तिम्रो हुन नसकेको अभागी
……..