राजधानीमा शनिबारसम्मै पानी पर्ने मौसमविदको अनुमान

काठमाडौं, २४ माघ । गएरातीदेखि परेको पानीले देशभर जाडो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले राजधानीसहित देशभर पानी परेको जनाएको छ । साथै महाशाखाले यसको असरले शनिवारसम्म नै पानी पर्नसक्ने जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा ठूलो पानी परेको छ भने पश्चिम नेपालका उच्च पहाडी भेगमा ठूलो हिमपात समेत भएको छ । हिमपातका कारण उच्च पहाडी भेगको यातायातदेखि जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको र यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने जानकारी दिएका छन् ।

पानी पर्ने र रोकिने क्रम चलिरहे पनि काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेल बताउँछन ।

‘पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भइरहने छ’, मौसमविद् पौडेलले भने ।

सुदूर पश्चिमका जिल्ला दार्चुला, बाजुरा, हुम्ला, मुगु, जुम्ला, डोल्पा, जाजरकोटलगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसमपूर्वानुमान महाशाखाले औंल्याएको छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविद मञ्जु बासीले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

Loading...