काठमाडौँ । नेपाल टेलिकम सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ। टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी÷एलटिइ सेवा विस्तारका लागि आइतबार सम्झौता भएको हो।
यसअघि संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरीद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रहेर देशभर चाडो सेवा विस्तार गर्न निर्देशन दिएको थियो।
उनले भनिन्, ‘ संसद्को अर्थ समिति, विकास तथा प्रविधि समितिको निर्देशनलाई आत्मसाथ गर्दै आइतबार चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता भएको छ। हामी काम अगाडि बढाउनेछौ। नेपालभर ६५ लाख क्षमताको फोरजी–एलटिइ विस्तारका लागि एउटा कोर नेटवर्क र दुई र्यान नेटवर्क तयार गर्छौ। ‘
उनका अनुसार छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमकोतर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटिइ तथा सिसिएसआइका प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिइन्। साथै फोरजी–एलटिइ सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क(र्यान)का लागि चिनियाँ कम्पनी जेडटिइ र सिसिएसआइ हङकङसँग सम्झौता समेत भइसकेको बताइन्।
यस्तै सेवा विस्तार भएपश्चात् टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलीका रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवा छनोट गर्ने अवसर प्राप्त हुने उनले विज्ञप्तिमा उल्लेख गरेको बताइन्। उनले भनिन्, ‘ फोरजीको मुख्य कोर नेटवर्क काठमाडौँ र बुटवलमा
रहनेछ।’
र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने उनले जानकारी दिइन्। सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ।
टेलिकमले मुलुकमै पहिलो पटक २०७३ साल पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटिइ सेवा सञ्चालन गरेको थियो।