अमेरिकी प्रतिनिधि सभामा ट्रम्पका पक्षमा जम्मा ३ मत

रुस र अमेरिकाबीचकाे सम्बन्ध अझै चिसिदै

काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो ।

अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध लगाउन नहुने पक्षमा जम्मा ३ मत मात्र परेको छ । प्रतिनिधिसभामा यसरी अप्रतिक्षित मतसहित प्रस्ताव पारित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन् ।

तत्कालै प्रतिबन्ध नलगाउने पक्षमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो मतदानले तनावमा थपेको छ । यसले नयाँ कानुनले रुससँग सम्बन्ध सुधारमा ट्रम्पलाई अफ्ठ्यारो पार्ने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गर्नु अघि प्रस्ताव सीनेटले पनि पारित गर्नुपर्नेछ । ट्रम्प भने प्रतिबन्ध लगाउने कानुनको विपक्षमा छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा डेमाक्र्याट र रिपब्लिकन दुबै पार्टीका सांसद कानुनका सम्बन्धमा एकमत छन् । नयाँ कानुनले रुस विरुद्धको प्रतिबन्ध हटाउने राष्ट्रपति ट्रम्पको अधिकारलाई निकै सीमित पार्नेछ । नयाँ कानुनविरुद्ध उनले भिटो प्रयोग गर्न सक्ने भए पनि यसले उनलाई क्रेमलिनको सहयोगीको रुपमा थप अप्ठेरो पार्ने विश्लेषण गरिएको छ ।

गत वर्षसम्पन्न अमेरिकी चुनावमा रुसी प्रभावको मुद्दा ट्रम्पलाई पहिलो छ महिनाको कार्यकालमा सबैभन्दा असर पार्ने विषय बनेको छ ।

युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि रुसमाथि अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएको थियो ।

Loading...