ट्याक्सी चालकको आँखा फोडेर ललितपुरमा भयो लुटपाट

काठमाडाैं, ४ पुस । ललितपुरमा मध्यराति यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालकलाई गम्भीर घाइते बनाएका छन्। बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कालाई मंगलबार राति छुरा हानिएको हो। छुरा प्रहारबाट उनको देब्रे आँखा फुटेको छ।

ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर काठमाडौंको शंखमुल जाने भनी उक्त ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारी पुलबाट करिडोरको पाँच सय मिटर पश्चिम पुगेपछि चालक खड्कामाथि अचानक धारिलो हतियार प्रहार गरेका थिए।

अन्दाजी २५ वर्षीय कालो वर्णका युवक र ३५ वर्षीय गोरो वर्णका हल्का दारी पालेका व्यक्तिले आफूमाथि छुरा प्रहार गरी लुटपाट गरेको पीडित चालकले बताएका छन्। उनीहरूले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको उनले बताए।

प्रहरीका अनुसार लुटेराहरूको आक्रमणबाट चालक खड्काको बायाँ आँखा फुट्नुका साथै टाउकामा गम्भीर चोट लागेको छ। पाटन अस्पतालपछि थप उपचारका लागि घाइते खड्कालाई बुधबार बिहान पौने ४ बजेतिर वीर अस्पतालकाे ट्रमा सेन्टरमा लगिएकाे छ। घाइते बोल्न सक्ने अवस्थामै छन्। घटनाको अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।

सिरहा घर भएका चालक खड्का हाल ललितपुरको भैंसेपाटीमा बस्छन् ।

Loading...