देउवा सरकारले देशको नाम फेर्न थालेपछि सांसदहरु उत्रिए विरोधमा

काठमाडौं, ७ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको नाम नै फेर्न थालेको भन्दै सांसदहरु विरोधमा उत्रिएका छन् । सरकारले आम नेपाली नागरिकका लागि जारी गर्न थालेको राष्ट्रिय परिचय पत्रमा देशको नाम फेरेपछि सांसदहरुले यस्तो विरोध जनाएका हुन् ।

ठूलो महत्वकांक्षाका साथ सरकारले नागरिकलाई स्मार्ट डिजिटल कार्ड जारी गर्न थालेको छ । सोही परिचय पत्रमा देशको नाम लेख्दा गम्भीर त्रुटी गरेको हो । उक्त परिचय पत्रको नमूनामा नेपालको नाम ‘फेडरल रिपब्लिक अफ नेपाल लेखिएको छ । जबकि २०७२ साल असोज ३ गते जारी भएको नेपालको वर्तमान संविधानमा फेडरल डेमोक्रेटिक रिपब्लिक नेपाल लेखिएको छ । संविधानको भाग १ धारा ४ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएको छ । यति प्रष्टसँग संविधानमा लेखिएको भए पनि सरकारले तयार पार्दै गरेको राष्ट्रिय परिचय पत्रमा नाम नै बदलिएपछि सांसदहरु आक्रोशित भएका हुन् ।

यही विषयमा नेकपा एमाले सांसदहरुले गृहमन्त्री प्रभाकरलाई भेटेर गम्भीर आपत्ति जनाएका छन् । नेपालको संविधानमा कतै पनि फेडरल रिपब्लिक अफ नेपालको अर्थ आउने वाक्य वा शब्दावली नभएको भन्दै उनीहरुले सरकारलाई यो त्रुटी तत्काल सच्याउन सरकारको ध्यानाकर्षण गराए । एमाले सांसद शान्ता मानवी, पेम्वा लामा, सुशीला नेपालसहित एक दर्जन सांसदहरुको टोलीले गृहमन्त्रीलाई भेटेर राष्ट्रिय परिचय पत्रमा नेपाली भाषामा नेपालको नाम उल्लेख गर्न पनि माग गरिएको छ ।

साथै उनीहरुले राष्ट‍्रिय कार्ड छपाईको जिम्मा विदेशी कम्पनीलाई दिन नहुनेमा जोड दिएका छन् । यसअघि सरकारले भने नेपालको राष्टिय परिचय पत्र छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिइसकेको छ ।

Loading...