काठमाडौं ।
बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको खुलासा गरेकी छन् ।
बेलायती संसदमा बोल्दै उनले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन् ।
उनले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत लगाइन । रुसी जासुसी निकाय जीआरयूमाथि सामूहिक कारबाहीको आह्वानसमेत उनले गरिन ।
स्कट्ल्यान्ड यार्ड तथा ब्रिटिश अभियोजनकर्ता निकाय क्राउन प्रोसिक्युसन सर्भिस सीपीएसले पूर्व रुसी गुप्तचर स्क्रिपाल र उनकी छोरी युलियाको हत्या प्रयास गरेको आरोप लागेका एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफविरुद्ध पर्याप्त प्रमाण रहेको जनाएका छन् ।
आरोपीहरुले आफ्नो नाम परिवर्तन गरेको हुन सक्नेसमेत बताइएको छ । बेलायती प्रहरीले दुई जनाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ ।
गत मार्चमा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको थियो । तर रुसले भने बेलायतको आरोप अर्थहीन भएको जनाएको छ ।
बेलायतले आरोपीहरुको नाम सार्वजनिक गरेपछि रुसी विदेश मन्त्रालयले ती व्यक्तिको नाम र फोटो आफूहरुका लागि अर्थहीन भएको प्रतिक्रिया दिएको छ ।
२०७५ भदौ २१ मा प्रकाशित ।