चितवन ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।
चितवनको भरतपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सकहरूका जायज माग सम्वोधन हुनुपर्ने माग गरे । तपाई प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरूसँग किन छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।
सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको सभापति देउवाको आरोप छ । उनले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए ।
सार्क र विमस्टेक फरक–फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको भनाइ छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको देउवाले बताए ।
देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।