काठमाडौं ।
सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको नेपाल यातायात मजदूर सङ्घले बताएको छ ।
सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए ।
सङ्घको भदौ २ गते शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्यु भएमा सवारी चालकलाई १० वर्ष कैद तोकेको भन्दै आपत्ति जनाएको छ ।
बैठकले मुलुकको संरचनाअनुसार गत महाधिवेशनले सङ्घको विधान परिमार्जन गरेकाले सोअनुसारको संरचनाका लागि देशभर अभियान थाल्ने, नयाँ स्थानमा सङ्गठन विस्तार गर्ने, तोकिएको न्यूनतम पारिश्रमिक सबै यातायात मजदूरमा लागू गराउने, सामाजिक सुरक्षा ऐन लागू गराउन पहल गर्ने, विषयगत विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ ।
सङ्घ आबद्ध महासङ्घ नेपाल ट्रेड युनियन काङ्ग्रेससँग छलफल गर्दै यातायात मजदुरका हकहित अधिकारका लागि सङ्घ देशभर पुग्ने अध्यक्ष भण्डारीले बताए ।
२०७५ साउन ३ मा प्रकाशित ।