पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो ।
गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह किम जोङ उनको रक्षाका लागि दौडिएको रनिङ गार्डको एउटा दस्ता थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि आफू बसेको होटेलबाट सोही दस्ताको घेरामा किम अर्को होटेल पुगेका थिए ।
विदेश यात्राका समयमा असुरक्षित महसुस गर्ने किम रनिङ गार्डको घेराभित्र गाडी चलाउँछन् । यस्तै सुरक्षा घेरामा किमले अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाको सीमाक्षेत्रमा दक्षिणका राष्ट्रपति मुनजाय इनसँग शिखर वार्ता गर्न पुगेका थिए । पछिल्लो दृश्यले उत्तर कोरियाले आफ्ना नेताको सुरक्षाको सवालमा कुनै कसर बाँकी राख्दैन भन्ने पुष्टि हुन्छ ।
किमका अगंरक्षकहरू सुरक्षाको बहानामा स्टन्ट मात्र देखाउँदैनन्, परिआएमा जुनसुकै हथकन्डा अपनाउँछन् । किम आफ्नो सुरक्षाबारे गम्भीर छन् । जुनसुकै वेला हत्या हुने सक्ने उनका त्रास छ । त्यही भएर उनले चीन भ्रमणमा आफ्नै रेल लगेका थिए । आफ्नो शासन मजबुत बनाउन सयौँ सैन्य अधिकारी र आफ्नै फुपाजुको ज्यान लिएका बर्बर तानाशाह किमको स्वदेश र विदेश भ्रमणमा कस्तो सुरक्षा हुन्छ ? यसबारे चौतर्फी चासो देखिन्छ ।
अंगरक्षकको अलग्गै कार्यालय हुन्छ
तानाशाह किमलाई सामान्यतया तीनवटा घेराको सुरक्षा व्यवस्था हुन्छ । किमको बुलेटप्रुफ गाडी र उनको नजिक दौडने अंगरक्षकहरूको समूहका लागि एउटा कार्यालय नै छ, जसलाई मेन अफिस अफ एडजक्टेन्ट भनिन्छ । राष्ट्रिय सेवामा आफ्नो कर्तव्य निर्वाह गर्न कोरियाली पिपुल्स आर्मी (केपिए)मा भर्ना भएका व्यक्तिहरूबाटै अंगरक्षकको छनोट हुन्छ । कार्यालयमा प्रायः सबै किम परिवार वा उत्तर कोरियाको सभ्रान्त परिवारका सदस्य हुन्छन् ।
किमको अंगरक्षकका लागि छनोट भइसकेपछि उनीहरूले कठोर तालिम सम्पन्न गर्नुपर्छ । सुरुमा उनीहरूलाई कोरियाली जनसेनाको विशेष अपरेसन फोर्सलाई जस्तै तालिम दिइन्छ । जसअन्तर्गत हाते बन्दुकको प्रयोग, भाग्ने तथा रक्षा गर्ने कला र विभिन्न मार्सल आर्ट पर्छन् । अंगरक्षकमा छनोट भएकाहरू शारीरिक रूपमा बालिया हुनुपर्छ ।
अंगरक्षकका मापदण्ड
किमका रनिङ गार्ड हुन विभिन्न मापदण्ड पूरा गर्नुपर्छ । त्यसमध्ये सबैभन्दा महŒवपूर्ण पक्ष उचाइ हो । उनीहरूको उचाइ सर्वोच्च नेताको हाराहारीकै हुनुपर्छ । उनीहरूमा कुनै दृष्टिदोष हुनुहुन्न । अर्थात् उनीहरूका आँखा तेज हुनुपर्छ ।
अंगरक्षकहरूमा निश्चित सैन्य सीप अनिवार्य मानिन्छ । निशाना ताक्न सक्ने विशेष ज्ञान, ताकेको ठाउँमा गोली हान्न सक्ने खुबी र फौजी कला नभई हँुदैन । उनीहरूको अनुहारको हाउभाउ र फिटनेसलाई पनि महत्व दिइन्छ । किमको अंगरक्षकका लागि छनोट हुने फौजीको पारिवारिक पृष्ठभूमिका साथै उनीहरूको दुई पुस्ताबारे अनुसन्धान गरिन्छ ।
अंगरक्षकहरूले ३६० डिग्रीमा किम र उनीवरपरको क्षेत्रमा एउटा रिङ बनाउँछन् । किमको वरपर हिँड्ने वा किमको अगाडि घोडा चढेर सुरक्षा दिने समूह मेन अफिस अफ एडजक्टेन्टका निर्देशकसहित तीनदेखि पाँचजनासम्मको हुनेछ । त्यस्तै किमका दायाँ–बायाँ चारदेखि ६ जना अंगरक्षक हुन्छन् । दुईदेखि तीनजना दायाँतर्फ र अरू दुई–तीनजना बायाँतर्फ हुनेछन् । त्यस्तै किमका पछाडि चारदेखि पाँचजना अंगरक्षक हुन्छन् ।
दोस्रो र तेस्रो घेरामा गार्ड कमान्ड
किमको दोस्रो र तेस्रो घेराको सुरक्षाको जिम्मा गार्ड कमान्ड अर्थात् जिसीको हुन्छ । मेन अफिस अफ एडजक्टेन्टले सर्वोच्च नेतालाई रक्षा गर्ने भए पनि गार्ड कमान्ड किम जाने स्थानको भौतिक क्षेत्रको सुरक्षाको जिम्मेवार हुन्छन् । स्वदेशमा किम रहने सरकारी भवन, निजी आवास वा विदेश जाँदा किम बस्ने होटेलको भौतिक वातावरणको सुरक्षा जिसीले दिन्छ । यसबाहेक जिसीले किमको बन्दोबस्ती र प्राविधिक कार्यमा सहयोग गर्छ ।
गार्ड कमान्ड (जिसी)मा आबद्ध अंगरक्षकहरूले पनि मेन अफिस अफ एडजक्टेन्टका अंगरक्षकहरूलाई जस्तो छनोट तथा परीक्षण पास गर्नुपर्छ । किमको सिंगापुर भ्रमणका क्रममा तीनवटा विमान प्योङयाङबाट सिंगापुर पुगेका थिए । दुईवटा विमानमा गार्ड कमान्डका सुरक्षाकर्मी थिए । जिसीका महिला तथा पुरुष सुरक्षाकर्मीले किमको मिसनमा आबद्ध भएर सहयोग प्रदान गरेका हुन्छन् । उनीहरूले किमले प्रयोग गर्ने फोन, कम्प्युटर र प्राविधिक सुरक्षा प्रदान गर्छ । त्यस्तै उनीहरूले सिंगापुर भ्रमणका क्रममा किमले पिउने मदिरा, खाना, चुरोट इत्यादि प्योङयाङबाट ल्याइदिएका थिए । किमले स्वदेशमा खाँदा वा देशबाहिर विशेष रात्रिभोज वा लन्चमा सहभागी हुँदा उनलाई दिइने खानेकुरा पहिला जिसीले परीक्षण गरेर मात्र लिन्छन् । सिंगापुरमा पनि गार्ड कमान्डले परीक्षण गरेपछि मात्र किमले केही खानेकुरा लिएका थिए ।
जिसीको अलग्गै मेडिकल डिपार्टमेन्ट पनि छ, जहाँ किमका व्यक्तिगत चिकित्सक र मेडिकल कर्मचारीले काम गर्छन् । सिंगापुर भ्रमणका क्रममा दुईजना चिकित्सक थिए । किमको व्यक्तिगत सुरक्षाका लागि जिसी २ डिपार्टमेन्टले दुईदेखि तीनवटा सुरक्षा घेरा दिन्छ र किम जाने, बस्ने र भ्रमण गर्ने क्षेत्रमा केन्द्रित हुनेछ ।
बाबुका भन्दा छोराका अंगरक्षक छरिता
हरेक अंगरक्षकसँग पेस्तोल हुन्छ । उनीहरूले निगरानीको कला (आफ्ना नेतावरपर) हुनुका साथै आफ्नो हात तथा शरीरले सम्भाव्य कुनै खतरालाई निस्तेज पार्ने खुबी हुनुपर्छ । वर्तमान नेताका बाबु किम जोङ इल जीवितै हुँदा उनलाई पनि एउटा जम्बो टोलीले सुरक्षा दिन्थ्यो । दुई वरिष्ठ अधिकारीअन्तर्गत एउटा अंगरक्षकको दरमा किमलाई सुरक्षा प्रबन्ध गरिन्थ्यो । वरिष्ठ अधिकारी प्रशस्त हुन्थे । तर, बाबुको तुलनामा वर्तमान नेताका अंगरक्षक सानो, छरितो र चुस्त मानिन्छ । अंगरक्षक सामान्यतया पश्चिमी शैलीको सुट र टाईमा सजिएका हुन्छन्, जुन सिंगापुर र कोरियाली प्रायद्वीपमा किमलाई सुरक्षा दिँदा देखिन्थ्यो ।
किमका चालक जहिले पनि नाइलन वा छालाको पन्जा लगाएर गाडीको स्टेयरिङ चलाउँछन् । उनीहरूले हेडफोनबाट रेडियो कम्युनिकेसन प्रयोग गर्छन् । आफ्नो पहिचानका लागि पोसाकमा छुट्टै संकेत हुन्छ, जसलाई निकै पुरानो विधि मानिएको छ । उनीहरूले प्रशस्तै कोड भाषा र सांकेतिक वाक्य प्रयोग गर्छन् । मेन अफिस अफ एडजक्टेन्टमा २ सयदेखि ३ सय फौज छन् । तीमध्ये आधा किमका अंगरक्षक छन् । बाँकी चालक र प्राविधिक कर्मचारी हुन्छन् । किमका अग्रजहरूका केही अंगरक्षकले लामो समय सेवा गरे पनि सामान्यतया १० वर्षपछि अंगरक्षक सेवानिवृत्त हुन्छन् वा अन्य सुरक्षा विभागमा खटाइन्छ ।