जेष्ठ ८ ,काठमाडौँ /युग कवि सिद्धि चरण श्रेष्ठको १०७ औ जन्म जयेन्तिको उपलक्ष्यमा काठमाडौँ स्थित धर्मपथमा रहेको सालिकमा माल्यार्पण गरि मनाइयो । कवि रत्न बिरही ,कवि तथा साहित्यकार राजभाई जकमी ,रामकृष्ण दुवाल ,प्रा डा पोख्रेल ,बैरागी काइला लगाएतले कविता बचन गरेका थिए ।
युगलाई परिवर्तन गर्न क्रान्तिकारी बिचारमा नेपाल भाष तथा नेपाली भाषामा अनेकौ कविता रचेका युगकविको जन्म ओखलढुङ्गा जिल्लामा बि. सं १९६८ जेठ ९ गतेका दिन भएको थियो। तिम्रै सुन्दर हरियालीमा तिम्रै शीतल वक्षःस्थलमा यो कविको शैशवकाल बित्यो, हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो मेरो प्यारो ओखलढुंगा ! लगाएत अनगिन्ति कविता मध्ये युगकवि सिद्धि-चरण श्रेष्ठको औधी लोकपि्रय कविता ‘ओखलढुंगा’का हुन्। पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरदिार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते जन्मेका सिद्धिचरणले १९९२ साल (२३ वर्षको उमेर)मा लेख्नुभएको हो यो ‘ओखलढुंगा’ कविता। यो ‘ओखलढुंगा’ कवि सिद्धिचरणको मात्र होइन, नेपाली साहित्यकै एउटा उत्कृष्ट प्रकृतिपरक कविता हो। यो ‘ओखलढुंगा’लगायत १९९२ सालसम्ममा सिद्धिचरणका ‘निर्झर’, ‘साँझमा हिमालयको दृश्य’, ‘प्रातकालीन किरण’, ‘जूनकीरी’, ‘सपनाझैँ देखेँ तिनलाई’, ‘वर्षा आयो’, ‘वसन्त’जस्ता अनेकानेक कविता शारदामा प्रकाशित भइसकेका थिए।
सिद्धिचरणले १९८४ साल -१५ वर्षको उमेर)मा पाँचौँ कक्षामा पुग्दा ‘सन्ध्या’ शीर्षक कविता लेख्नुभएको थियो। यो कविता उहाँको पछि २०२१ सालमा प्रकाशित कवितासंग्रह कोपिलामा संग्रहित छ। जहानियाँ राणाशासनको समयमा कवि सिद्धिचरणका यस्ता खुलेआम विद्रोह निम्त्याउने खालका अभिव्यक्तिबाट उहाँ तत्कालीन निरंकुश शासनसँग मात्र होइन, अपितु सृष्टिकर्ता स्वयं परमेश्वरसित पनि विद्रोह गर्न अति आतुर रहनुभएको खुलासा हुन्छ। वास्तवमा कवि सिद्धिचरण आफ्ना उपर्युल्लिखित कविताहरूमा त्यसबेला जनमानसमा भित्रभित्रै गुम्सिरहेको र अरू कसैले मुखरति तुल्याउन नसकेको एकतन्त्रीय क्रूर जहानियाँ राणाशासनविरोधी युगीन विद्रोह र क्रान्तिको आवाजलाई नै वाणी दिन अग्रसर रहनुभएको थियो। जीवनको अन्तिम समयसम्म पनि अनवरत साहित्यसाधनामा समर्पित रही आफ्ना अनेक अमूल्य कालजयी काव्यकृतिद्वारा नेपाली र नेवारी साहित्यलाई समेत अपूर्व सौन्दर्यमय एवम् गरमिामय बनाएर ०४९ जेठ २२ गते यस धर्तीबाट सदाका लागि बिदा हुनुभयो ।युगकवि सिद्धिचरण भौतिक रूपमा यस संसारमा हुनुहुन्न तापनि उहाँ समस्त साहित्यप्रेमी नेपाली जनजनका मनमनमा सदा विराजमान हुनुहुन्छ र रहिरहनु हुनेछ।
फोटो – बुद्धशरण शाही