टर्कीमा असफल राज्य विद्रोहको एक वर्ष

इस्तानबुल । टर्कीमा सत्तासिन राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ भएको एक वर्ष पुगेको दिन शनिबार इस्तानबुल र अंकारामा बृहत् ¥यालीहरुको आयोजना गरिएको छ ।

सन् २०१६ जुलाई १५ रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासमा सरकारी भवनहरुमा बमबारी गर्नुका साथै मानिसहरुमाथि गोली हानी सत्ता परिवर्तनको प्रयास गरेपछि २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब दुई हजार २०० जना घाइते भएका थिए ।

टर्की सरकारले सत्ताका लागि भएको उक्त दुःखद आक्रमणमा मारिएका ज्ञातअज्ञात सबै नागरिकको सम्झनामा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

रुष्ट सैनिकहरुसँग सर्वसाधारण जुधेका इस्तानबुलस्थित एउटा पुलमा आयोजना गरिने र्यालीलाई पनि एर्दोगानले सम्बोधन गर्नेछन । उनका समर्थकहरुले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्कीको पुनर्जन्मका रुपमा व्याख्या गर्ने गरेका छन् भने विरोधीहरुले ५० हजार जनालाई गिरफ्तार र डेढ लाख जनालाई बर्खास्त वा निलम्बन गरिएको विषयलाई उठाउँदै सरकारले प्रतिपक्षलाई सिध्याउन उद्दत रहेको दाबी गर्दै आएका छन् ।

टर्कीको सरकारले अमेरिकामा स्वघोसित निर्वासनमा रहेका इश्लाम धर्म गुरु फेतुल्लाह गुलेनका समर्थकहरु सत्तापलटमा संलग्न भएको आरोप लगाउँदै आएको छ ।

तर गुलेनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् ।सरकारले गुलेनलाई सुपुर्दगी गर्न गरेको माग वासिङगटनले अस्वीकार गर्दै आएको छ ।

Loading...