खाडी सङ्कट समाधान गर्न फ्रान्स मध्यस्तता गर्न इच्छुक

दोहा, ३१ असार । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताएका छन् ।

“कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ”– ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताए ।

फ्रान्स कतारको खाडी क्षेत्रका अन्य केही छिमेकीसँग एक्कासी बिग्रिएको सम्बन्धप्रति गहिरो चासो राखेको छ, कतारी इमीर शेख तमिम विन हमद अल थानीसँग पनि भेटी खाडी मुलुकको पछिल्लो सङ्कटकाबारेमा कुरा गरिसक्नुभएकाले ड्रेनले भने ।

फ्रान्सले समाधान खोज्न सबै समृद्ध खाडी मुलुकसँग अरब मुलुकबीचको तनाव कम गर्ने उद्देश्यले कुराकानी गरिसकेको उनले दाबी गरे ।

ले ड्रेन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थता अभियानमा चार दिनको खाडी मुलुकको भ्रमण र कुराकानी पछि बिहीबार फर्केपछि तय गरिएको कार्यक्रमअनुसार शनिबार कतार आएका हुन् । टिलरसनको खाडी बसाइँले खासै उपलव्धि हासिल गर्न नसकेपछि ले ड्रेनले समस्या समाधानमा पहल गर्ने जनाएका हुन ।

कतारी विदेशमन्त्रीले फ्रान्सले गर्ने पहलमा आफ्नो सहयोग रहने बताउँदै वार्ता रचनात्मक रहनेमा विश्वास व्यक्त गरे ।

खाडीका चार मुलुकले आतङ्कवादलाई सघाएको भन्दै कतारसँग गत महिनादेखि कूटनीतिक सम्बन्धविच्छेद गर्नुका साथै खाद्यान्नलगायतका सामानको आपूर्तिमा दोहामाथि प्रतिबन्ध लगाएको छ ।

Loading...