१० लुटेरा फिल्मी शैलीमा लुटेर बेपत्ता : जमिनले खायो की आकाशले निल्यो

म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो ।

सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका हुन् ।

मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका लुटेराहरुले ब्यावसायी रामबहादुरको परिवारलाई पेस्तोल देखाई नियन्त्रणमा लिएका थिए । करीब १ दर्जनको संख्यामा रहेका लुटेराहरुले परिवारका सदस्यहरुलाई पेस्तोल देखाई डोरीले हातखुट्टा बाधेर नियन्त्रणमा लिएका थिए ।

उनीहरुले करिब १८ तोला सुन, नगद रु १ लाख ६२ हजार , १० वटा मोबाइल सेट लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटेका थिए ।

नकाब लगाएर आएका लुटेराहरुको पहिचान खुल्न नसक्दा प्रहरी परेशान बनेको हो । करीब १ दर्जनको समूहमा आएका लुटेराको नाइकेले पेस्तोल देखाएको, अर्को एकले पेस्तोल बोकेको र अन्यले खुकुरी, रड लगायतका घरेलु हतियार लिएर परीवारका सदस्यहरुमाथि कब्जा जमाई निस्फिक्री लुटपाट मच्चाएर फरार भए । जादाजादै एक लुटेराले पीडितका छोरालाई म्वाइ खाएर गएपछि पिडितको नजिकका व्यक्तिहरुप्रति प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ ।

प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद प्रसाईंले बताए । इभक्तपुरसंग कुरा गर्दै प्रसाईले प्रहरीले लुटेराहरु समात्न सम्पूर्ण शक्ति लगाइरहेको जानकारी गराउदै अपराधीहरु उम्कन नसक्ने दावी गरे ।

भक्तपुरमा नाटकीय शैलीको यो लुटपाट नौलो भने होइन । यस अघि च्यामासिंमा पनि एक इट्टा व्यवसायी यसैगरी आफ्नै घरमा लुटपाटमा परेका थिए ।

Loading...