पाटनको मन्दिरबात ४० बर्ष अगाडी हराएका मूर्ति पुनः प्रतिस्थापन

 

मंसीर २० , ललितपुर। ललितपुर महानगरपालिका १६ वडा भित्रको पाटन पटको टोलमा करीव ४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । बिदेशको संग्रहालयमा पाईएको उक्त मूर्तिलाई फर्काएर बिधिवत रूपमा यथास्थानमा प्राणप्रतिस्थापन गरिएपछी अब सो मन्दिरमा लक्ष्मीनारायणका दुबै मूर्तिलाई पुजिने भएको छ ।

३७ वर्षअघि पाटनको पटको टोलबाट चोरी भएर अमेरिकाको डल्लास म्युजियम अफ आर्टस् पुगेको लक्ष्मीनारायणको मूर्ति बिगत ६ महिनादेखि पाटन संग्रहालयमा रहँदै आएको थियो । उक्त मूर्तिलाई स्थानियकै जिम्मामा मूल मन्दिरमै स्थापना गर्दा संस्कृति सम्पदा जगेर्नाको महत्वबृद्धिसंगै संरक्षणको दायित्व स्थापित हुनेगरी औपचारिक रूपमै लगेको प्रमाण राख्न मूल चोकमा वडाका पदाधिकारीहरू, अभियन्ता र स्थानियको हस्ताक्षर गर्दै यथास्थानमा नै प्रतिस्थापन गरिएको पाटन संग्रहालयका निमित्त निर्देशक सुरेषमान लाखेले बताएका छन ।

१५औँ शताब्दीको भनी आँकलन गरिएको लक्ष्मीनारायणको मूर्ति ३७ वर्षअघि सन् १९८४ को एक मध्यरातमा पाटनको पट्को टोलबाट लक्ष्मीनारायणको मूर्ति चोरी भएको थियो । चोरी भएको उक्त मूर्ति एकाएक सन् १९९० मा अमेरिकामा लिलामीमा राखिएको पाइएको थियो ।
लामो अनुसन्धान र कूटनीतिक पहलपश्चात् अमेरिकाको डल्लास म्युजियमले लक्ष्मीनारायणको मूर्तिलाई गत नोभेम्बर ३० मा एफबीआईमा बुझाएको थियो । त्यसपछि एफबीआईले उक्त मूर्ति वासिङटनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो ।

यथास्थानमा नै लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन हुनु वास्तवमै ऐतिहासिक क्षण भएको अभियन्ता रोशन मिश्र बताउँछन् । उनका अनुसार यसखालको ऐतिहासिक उपल्ब्धिले अन्तर्राष्ट्रिय निकाय, म्युजियम, अक्सन हाउस र निजी संरक्षकलाई नेपालमा जीवन्त संस्कृति कसरी बाँचिरहेको छ भन्ने सन्देश दिएको छ ।
‘उनीहरूका लागि यी फगत् मूर्ति होलान् हाम्रा लागि त देवता हुन्,’ उनले भने, ‘अब आइन्दा नेपाली मूर्तिको किनबेचको कुरा आउँदा अन्तर्राष्ट्रिय निकायहरूले दश पटक सोच्नेछन् । यो नै हाम्रो आर्जन हो ।’

लक्ष्मीनारायण मूर्ति जस्तै हालसम्म नेपाल हेरिटेज रिकभरी अभियानले चोरी भएर विदेशमा पुर्‍याइएका नेपालका सातवटा मूर्तिहरू पत्ता लगाइसकेको छ । यसअघि छरिएका एकल पहलहरू अब संरचनागत रूपमा अभियान चलाएर मूर्ति फिर्ता गराउन सक्ने आँट लक्ष्मीनारायणको मूर्तिले दिएको मिश्रले बताए ।

परम्परागत क्षमापूजासंगै बाजागाजा सहित पटको टोलवासीदेखि, हेरिटेज रिकभरी अभियानका कनक दिक्षित लगायत अमेरिकी राजदूत र्‍यान्डी बेरीसम्मको सहभागिताले मूर्ति पुनर्स्थापन कार्य उत्सवमय भएको १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताए । लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापनले संरक्षण चेतना पनि बढाएको बताउँदै उनले सो स्थानमा स्थानियवासीको सहकार्यमा सिसिटिभी र सेन्सर जडान कार्य गरिएको जानकारी गराएका छन ।

पाटन संग्रहालयबाट बाहिर राखिएको खट्मा लक्ष्मीनारायण मूर्ति बिराजमान गराइ पाटन दरवार क्षेत्रहुँदै बाजगाजा, अबिर अक्षता र धूपबत्ती लिएका भक्तजनहरुको लस्करले नाचगान गर्दै पटको टोलको मन्दिरसम्म पुर्‍याइ बिधिवत रूपमा स्थापना गराउन साथ दिएका थिए ।

Loading...