उपत्यकामा निषेधाज्ञा लागु , वैशाख १६ गतेदेखि यातायात बन्द

काठमाडौं -उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु हुने भएको छ । यी जिल्लाहरुमा वैशाख १६ बिहिबार बिहान  देखि २२ गते राती १२ सम्म अर्को सूचना जारि नभए सम्म सार्वजनिक र निजी यातायात पनि बन्द गर्ने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले अत्याआवस्यक सेवा बाहेक औषधि पसल र खाद्यपदार्थ पसलबाहेकका अन्य पसल बन्द गर्ने निर्णय गरेको छ ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन। विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै गर्न सकिनेछ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ। विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा आधिकारिक सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला राख्न पाइनेछ। ती पसल सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गराउनुपर्नेछ।
नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक हवाइ उडान बन्द नगर्ने –

सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।

Loading...