बिमा समितिले बिमा शुल्क दर घटायो

काठमाडौ । बिमा समितिले अग्नी, सामुन्द्रिक तथा अन्य बिमाअन्तर्गत हुलदंगा, हड्ताल, द्वेशपूर्ण कार्य र आतंककारी तथा विध्वंसात्मक कार्यको बिमाशुल्क दर घटाएको छ । समितिले आगामी साउनदेखि लागू हुने गरी बिमाशुल्क दर घटाएको हो ।

समितिले विभिन्न निर्जीवन बिमाअन्तर्गत पर्ने हुलदंगा र हड्तालको बिमाशुल्क दर परिवर्तन गरेको छ । जसमध्ये भवन, वेयर हाउस तथा गोदाम, कलकारखाना, पसल, स्टोर, शोरुम र बजार, मनोरन्जन स्थल, सञ्चारस्थल, विद्युत् स्टेसनसम्बन्धी, रित्तो वा निर्माणका क्रममा रहेको भवनको बिमा गर्दा हुलदंगा र हड्तालको जोखिम सुरक्षण गरे बापत लाग्ने बिमाशुल्क दर समितिले घटाएको हो ।

भवन बिमाअन्तर्गतको हुलदंगा र हड्तालको बिमाशुल्क दर बार्षिक प्रतिहजार बिमांकमा २० पैसा कायम गरिएको छ । हाल विमितले यस्तो जोखिम सुरक्षण गरेबापत विमकलाई प्रतिहजार बिमांकको बार्षिक २६ पैसा भुक्तानी गर्दै आएका थिए ।

त्यस्तै, विभिन्न अवस्थाका वेयर हाउस तथा गोदामअन्तर्गत हुलदंगा र हड्तालको बिमाशुल्क दर अधिकतम् १२ पैसासम्म घटाइएको छ । जसमध्ये भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदामको बिमाशुल्क दर प्रतिहजार बिमांकको ३५ पैसा कायम गरिएको छ भने अन्य स्थानमा रहेको बन्द वेयर हाउस वा गोदामको ५० पैसा कायम गरिएको छ ।

त्यस्तै, भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुला वेयर हाउस वा गोदामको ४० पैसा कायम गरिएको छ भने अन्य स्थानमा रहेको खुला वेयर हाउस वा गोदामको ६० पैसा कायम गरिएको छ । कलकारखानाका हकमा भने प्रतिहजार बिमांकको ४० पैसा बिमा शुल्क दर कायम गरिएको छ ।

हाल विमितले यस्तो विमा बापत प्रतिहजार विमांकमा ५० पैसा बिमाशुल्क भुक्तानी गर्दै आएका थिए । त्यस्तै, पसल, स्टोर, शोरुम र बजार बिमाअन्तर्गत हुलदंगा र हड्ताल बिमा बापत लाग्ने बिमाशुल्क दर प्रतिहजार विमांकमा ८० पैसा कायम गरिएको छ । त्यस्तै, मनोरञ्जन स्थलको ५०, सञ्चारस्थलको ३५, विद्युत् स्टेसनसम्बन्धीको ३५ र रित्तो वा निर्माणका क्रममा रहेको भवनको २० पैसा बिमाशुल्क दर कायम गरिएको समितिले जनाएको छ ।

समितिले पछिल्लो पटक बिमाशुल्क दर घटाउने क्रम बढाएको छ । नेपालको बिमा व्यवसाय बढ्दै गएको अवस्थालाई विमितको हितलाई मध्यनजर गर्ने हो भने बिमाशुल्क दर घटाउनुपर्ने आवश्यकता रहेको समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले बताए । “यसले बिमाको दायरा पनि बढ्नेछ । बिमाशुल्क दर थोरै हुँदा बिमा गर्नेको संख्या अवश्य बढ्छ,” उनले भने ।

त्यस्तै, समितिले अग्नि बिमाअन्तर्गत पर्ने द्वेशपूर्ण कार्यको बिमाशुल्क दर भने प्रतिहजार विमांकको ५ पैसा कायम गरेको छ । हाल विमितले यस्तो बिमा बापत बिमांकको १० पैसा भुक्तानी गर्दै आएका थिए । समितिको नयाँ व्यवस्था अनुसार अबदेखि २० लाख रूपैयाँसम्मको व्यक्तिगत दुर्घटना बिमांकको प्रतिहजार १० पैसा भुक्तानी गरे पुग्छ ।

हालको व्यवस्थाअनुसार १० लाख बिमांक बराबरको व्यक्तिगत दुर्घटना बिमा गर्दा १० पैसा भुक्तानी गर्नु पथ्र्यो । त्यस्तै हालको व्यवस्था अनुसार १० लाखभन्दा बढीको व्यक्तिगत दुर्घटना बिमा प्रतिहजार विमांकमा २५ पैसा बिमाशुल्क भुक्तानी गर्नुपथ्र्यो भने अबदेखि सोही दरमा २० लाखभन्दा बढीको बिमा गर्न पाईने भएको छ ।

गार्हस्थ बिमालेखअन्तर्गत भने हुलदंगा र हड्ताल तथा द्वेशपूर्ण कार्य र विध्वंसात्मक÷आतंककारी जोखिमको संयुक्त बिमाशुल्क दर प्रतिहजार बिमांकको २० पैसा कायम गरिएको छ । साथै भूकम्पपछि गार्हस्थ बिमा गर्नेको संख्या व्यापक रूपमा बढेपछि समितिले प्रतिहजार बिमांकको १ रूपैयाँ तोकेको छ । यसअघि भने दर तोकिएको थिएन ।

त्यस्तै, अग्नी बिमाअन्तर्गत आतंककारी तथा विध्वंसात्मक कार्यको जोखिम बहन गरेबापत प्रतिहजार विमांकको २० पैसा बिमाशुल्क दर कायम गरिएको छ । इन्जिनियरिङ बिमाअन्तर्गत भने ४० पैसा बिमाशुल्क दर कायम गरिएको छ ।

त्यस्तै, समितिले बिमा गरिएको मोटर अन्य मुलुकमा गई दुर्घटना भएको अवस्थामा सोही मुलुकको कानुन बमोजिम हुने गरी दायित्व कायम गरेको छ । अन्य मुलुकको कानुनी व्यवस्था नेपालको भन्दा फरक हुने भएकाले समितिले मोटर बिमा दरसम्बन्धी निर्देशिका अनुसार यस्तो व्यवस्था गरेको हो ।

साथै मोटर बिमाअन्तर्गत तेस्रो पक्ष बिमामा दोहोरो बिमा भएको अवस्थामा तथा सवारी साधन पूर्णरूपमा क्षति भै दर्ता खारेज गरिएको अवस्थामा बाहेक अन्य अवस्थामा बिमालेख रद्द गर्न नपाईने व्यवस्था गरेको छ ।

Loading...