मृगौला पीडितलाई प्रवासी नेपालीको आर्थिक सहयोग

काठमाडौं । लामो समयदेखि दुबै मृगौला पीडित भई उपचाररत प्युठानका प्रकाश बिक्रम जिसीको उपचारका लागि प्रवासी नेपालीहरु जुटेका छन् । कपिलवस्तुको बाणगंगामा डेरामा बस्दै आएका जिसीको उपचारकालागि अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका हुन् ।

अमेरिका निवासी मनोज कार्कीलगायतले भर्खरै जिसीको उपचारका लागि पठाएको ७३ हजार ७ सय ५६ रुपैया पीडितलाई हस्तान्तरण गरिएको हो । नेपाली हट ग्रुप टिकटकको अभियानमा कार्कीले हातेमालो गरेर सो रकम सहयोग गरेका हुन् ।

सो टिकटक ग्रुपका होस्ट प्युठानका डिल्लीराज पराजुली, हट ग्रुपका सल्लाहकार बोम बहादुर परियार, भुवन सिंह, पत्रकार एल बि थापा, पदम सुबेदी, ग्रुपका सदस्य सुगम रिजाल, पदम खनाल लगायतको उपस्थितिमा सो रकम पीडितलाई हस्तान्तरण गरिएको टिकटक ग्रुपका होस्ट पराजुलीले ननस्टपखबरलाई जानकारी दिए ।

पीडित प्रकाशका एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । सो रकमले जिसीको उपचारमा केही भएपनि राहत महशुस भएको जिसीको परिवारजनले बताएका छन् ।

अमेरिका निवासी कार्कीले यसअघिपनि नेपालका विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएका छन् । ‘हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन नगर्ने ? पैसाले कहिले पुग्छ र ?’ ननस्टपखबरसँग फेसबुक म्यासेन्जरमा कुरा गर्दै कार्कीले भने, ‘अझै धेरै पीडितहरुको सहयोगका लागि कुरा आएको छ विस्तारै सहयोग गर्दै जान्छु ।’

कार्कीले MANOJ KARKI (मनोज कार्की)नामको युट्युव च्यानल सञ्चालन गरेका छन् । सो युट्युव च्यानलबाट कमाइ भएको रकम पनि यस्तै समाजसेवामा खर्च गर्दै जाने उनले स्पष्ट पारे ।

 

Loading...