विदेशमा रहेका एनआरएन स्वास्थ्यकर्मी नेपाल फर्केर सेवा गर्न तयार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न गरिएको सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले राज्यले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्र, प्रदेश, स्थानीय सरकारको समन्वयकारी भूमिका बनाउनुका साथै एनआरएनए लगायत विभिन्न अन्तराष्ट्रिय निकायसँग सहकार्य आबश्यक रहेको बताए ।

‘पब्लिक हेल्थ एण्ड पेन्डामिक मिटिगेसन’ विषयक कार्यक्रममा बोल्दै यादवले महामारीको मौकामा स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामग्री खरिद गरी भ्रष्टाचार गर्ने प्रवृति बढेकाले एनआरएनए लगायत अन्तराष्ट्रिय निकायहरुसँग सहकार्य गरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिने बताए ।

स्वास्थ्य मानिसको आधारभूत अधिकार भएको तर नेपाल जस्ता विकशील मुलुकहरुमा आधारभूत अधिकारबाट नै नागरिकहरु बञ्चित बन्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।

कोरोना महामारीको समयमा पनि आर्थिक रुपले असक्षम नागरिकहरु खासगरी विपन्न तथा दलित समुदायहरु आवश्यक स्वास्थ्य सुविधाबाट बञ्चित बन्न बाध्य रहेको उल्लेख गर्दै कोरोनाका कारण यही वर्गका व्यक्तिहरुले ज्यान गुमाउनु परेको उनले बताए ।

‘एकातिर खुल्ला सीमाना, चेतनाको अभाव, र विभिन्न कारणले नेपालमा तीव्र गतिमा कोरोना फैलिएको छ,’ उनले भने, ‘यसबाट बचाउन कुनै लापरबाही नगरी राज्य लाग्नुपर्ने देखिएको छ ।’

कार्यक्रममा बोल्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वास्थ्यसँगै रोजगारी क्षेत्रमा पनि कोरोना महामारीका कारण निकै ठूलो असर परेको बताइन ।

‘खाडी क्षेत्रसहित समग्र विश्वको श्रम बजारमा कोरोनाको प्रभाव रहेको छ । खाडीमा मात्रै १० प्रतिशतले रोजगारी गुमाउने अनुमान छ,’ उनले भनिन ।
राजदूत ढकालले भनिन, ‘सम्पूर्ण खाडी मुलुकहरुले आफ्ना नागरिकहरुलाई रोजगारीको प्रत्याभूति गर्ने रणनीतिहरु लागू गरेका छन् । ओमानले पनि २०१९ बाट ८० प्रकारका काममा विदेशी कामदारहरु नलिने घोषणा गरेको छ । थियो भने २०२१ बाट सरकारी कामदार नराख्ने नीति लिएको छ ।’

महामारीको समयमा नेपालले पनि अन्य राष्ट्रहरुले लिएको रणनीतिअनुसार सहकार्य गरेर अगाडी बढ्न आबश्यक रहेको उनको सुझाव थियो ।

त्यसैगरी स्वास्थ्य विभागका निर्देशक डा दिपेन्द्र रमण सिंहले नेपालमा कोरोना संक्रमणले जटिल रुप लिँदै गएको उल्लेख गरे । ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको उनले जानकारी दिए । त्यस्तै पछिल्लो समय संक्रमितहरु मध्ये ७० प्रतिशत पुरुष तथा ३० प्रतिशत महिला रहेको उनले बताए ।

कोरोनासँग जुध्न निकै चुनौतीपूर्ण अवस्था रहेकाले सहयोगका लागि उनले एनआरएनएलाई समेत आग्रह गरे ।
विदेशमा कोरोना नियन्त्रणका अनुभव तथा प्रविधिहरु नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग साटेर विदेशमा रहेका स्वास्थ्यकर्मीहरुले सहयोग गर्न आबश्यक रहेको उनले उल्लेख गरे ।

एनआरएनए अन्तर्गत स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ सँगसँगै हामी यात्रा गरिरहेको बताए ।

कोरोनाका कारण थुप्रै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गुमाइसकेको बताउँदै उनले ठूलो संख्यामा संक्रमित निको भएको जानकारी पनि दिए । महामारीसँग जुध्न अझ धेरै संघर्ष आबश्य रहेकाले सबैजना हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा डा. भगवान कोइरालाले महामारीसँग जुध्न स्वास्थ्यकर्मीहरुको निकै महत्वपूर्ण भूमिका रहेको बताए । तर स्वास्थ्यकर्मीहरुको सुरक्षा अबस्था चाहिँ निकै दयनीयपूर्ण रहेको उनको भनाई थियो ।

समितिका अध्यक्ष डा. संजिव सापकोटाको संयोजनमा स्रिया गजुरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रममा सांसद रिना गुरुङले पनि आफ्नो धारणा प्रस्तुत गरेकी थिइन । त्यस्तै प्रोफेसर डा. पदम सिम्खडा, भोमा लिम्बु एनआरएनए महिला संयोजक, डा. इसान अधिकारी, डा. निस्हिता पाठक, डा. दिपेन्द्र पराजुली, रवि नायक नेश्नल ल स्कुल अफ इन्डिया युनिभर्सिटी, लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

सोही कार्यक्रमको दोस्रो सेसनमा समेत मोहनकुमार शर्मा त्रिभुवन युनिर्भसिटी एण्ड सेन्टर रिसर्च अन एजुकेशन हेल्थ एण्ड सोसल साइन्स, कृष्णप्रसाद पाठक कोटेश्वर बहुमुखी क्याम्पस, डा. पुष्पराज भट्टराई, जानकी पौडेल एनआरएनए, भोमा लिंबु महिला संयोजक एनआरएनए लगायतले धारणा व्यक्त गरेकी थिइन ।

Loading...