मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि

जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको क्षेत्रमा दलदलमा फस्यो । तर, पाइलटको सावधानीका कारण हेलिकोप्टर तत्काल उडाइएपछि केही भएन ।

मौसम खराब भएपछि शनिवार नै जाने भनिएको नेपाली सेनाको हेलिकोप्टर आइतबार बिहान सुर्खेतबाट बारेकोट पुगेको थियो । काठमाडौंबाट नेपाली सेनाको जहाजमा सुर्खेत पुगी त्यहाँबाट सेनाकै हेलिकोप्टरमा बनमन्त्री शक्ति बस्नेत, सांसदहरु सत्या पहाडी, मायाप्रसाद शर्मा, भैरवसुन्दर श्रेष्ठ मौसम प्रतिकूलताका बावजुत राहत सामाग्री लिएर बारेकोट पुगेका थिए । बारेकोटको सबैभन्दा बढी क्षति पुर्याएको पहिरो जिरीको सार्की गाउँमा पुगेको हेलिकोप्टर त्यहाँ ल्याण्ड गर्ने ठाउँ खोज्दै नपाउँदा नजिकैको ठकुरी जिरी गाउँको मकै बारीमा ल्याण्ड गर्यो । टेन्ट, चामलसहितको राहत हेलिकोप्टरबाट झारेर दिएपछि मन्त्री बस्नेतसहितको टोली स्थानीय जनतासँग कुराकानी गर्दै थियो । त्यहीबेला ठूलो पानी पर्यो । लामोसमयदेखि पानी परेकोले हेलिकोप्टर ल्याण्ड गरेको मकै बारीको माटो दवदवे थियो । त्यसैमा एकाएक पानी परेपछि झनै दलदल भयो । एकैछिनमा हेलिकोप्टर धसिन थाल्यो । त्यसपछि हेलिकोप्टरका पाइलटले मन्त्रीको टोलीलाई तत्काल हेलिकोप्टर चढ्न भने । राहत वितरण गर्न गएका सांसद मायाप्रसाद शर्माले भने, “झण्डै हेलिकोप्टर दलदलमा फसेको थियो । हतारहतारमा पाइलटले उडाएपछि हामी फर्कियौ ।”

मन्त्री बस्नेतकाे टाेलीले जाजरकाेट खलंगाबाट पनि केही राहत सामाग्री बारेकाेट पुर्याउने तयारी गरेकाे थियाे । तर, माैसम निकै प्रतिकूल बनेपछि उक्त हेलिकाेप्टर सदरमुकाम अवतरण नगरेरै सुर्खेत फर्किएकाे थियाे । 

यसपटक चैतदेखि नै निरन्तर पानी परिरहेको र असारमा लगातार केही दिनसम्म पानी परेकाले नेपालका अधिकांश पहाडी जिल्लामा पहिरोको समस्या बढेको छ । त्यस्तै स्थानीय निकायले विना भौगोलिक अनुसन्धान जथाभावी डोजर चलाएर सडक खनेका कारण पनि पहिरोका समस्या बढेका छन् । जाजरकोटको बारेकोटका अधिकांश गाउँमा यसपटक पहिरोको जोखिम बढेको छ । जमिन चर्किने र ठाउँ ठाउँमा पहिरो जाने गरेपछि यस गाउँपालिकाका ५०० भन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । साउन र भदौमा अझै पानी पर्ने भएकोले यस क्षेत्रमा झनै विनास निम्तन सक्ने भन्दै यहाँका नागरिक चिन्तामा छन् ।

बारेकोट ४ जिरी सार्की गाउँमा गएको गत विहीबार राति गएको पहिरोले २ घर पूरै र २ घर आधा बगाएको थियो । पहिरोमा परी १२ जना वेपत्ता भएकोमा १० जनाको शव भेटिसकेको छ । त्यसैगरी बारेकोट ६ धुमा गाउँमा गएको पहिरोमा परेर २ जना वेपत्ता भएका छन् । त्यस्तै बारेकोट ६ कैै कार्कीज्यूलामा २ घर बाढीले बगाएको छ । त्यसैगरी बारेकोटको तोलखाना, कालाखोली, पाखा, मैना र धौलाकोटमा पनि पहिरोको असर देखा परेको छ । ठाउँ ठाउँमा जमिन चर्किने र धसिने गर्न थालेपछि यस क्षेत्रमा सयौ मानिस घर छोडेर गोठ, जंगल र विद्यालय भवनमा बस्न बाध्य भएका छन् ।

धुमा र जिरीको पहिरोमा परेर गम्भीर घाइते भएका २ जनालाई मन्त्री बस्नेतकै पहलमा शनिवार हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाटै उद्धार गरिएका दुबै जनालाई कोहलपुर मेडिकल कलेजमा राखिएको छ । तर, उनीहरुको उपचारमा ढिलाइ भएको भन्दै उनका आफन्तजनले गुनासो गरेका छन् ।

Loading...