पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे क्षति भएकाे छ ।

बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर वेपत्ता भएका मध्ये २ जनाको शव आज भेटिएको हो । सो पहिरोमा परेका मध्ये यसअघि सात जनाको शव भेटिएको थियो । यससँगै उक्त पहिरोमा परेर वेपत्ता भएका मध्ये ९ जनाको शव भेटिएको हो । बाँकी तीन जना भने अहिलेसम्म वेपत्ता छन् । उक्त पहिरोमा परेर वेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताले दुई दिनदेखि निरन्तर खोजि गरिरहेका छन् । बारेकाेट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले दुर्गम ठाउँ र कठिन भूबनाेट भएका कारण उद्धार कार्यमा कठिनाइ आएकाे बताए । उनले आफू पनि अहिले सार्की गाउँकाे पहिराेमा परी वेपत्ता भएकाहरुकाे खाेजिमा लागिरहेकाे जानकारी दिए । आफ्नाे घर पनि पहिराेले बगाउने खतरा भएपछि आमासहित धेरै जना विस्थापित भएकाे तर आफू जान नपाएकाे गाउँपालिका अध्यक्ष शाहले बताएका छन् । 

वडा नम्बर ४ की वडा अध्यक्ष सिर्जना बस्नेतले जिरीको सार्की टोलमा राति नै दुई घर बगाउँदा ११ जना वेपत्ता भएकोमा ९ जनाको शव भेटिएको जानकारी दिइन । वेपत्ता मध्य ५२ बर्षीय गोपाल सार्की, उनका छोरा ११ बर्षीय अर्जुन सार्की, १४ वर्षीया छोरी तिर्खा सार्की, २० वर्षीय डिल्ली सार्की, कुशे गाउँपालिका ९ बाट दिदीको घरमा पाहुना गएका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, ६ वर्षीय सुभाष सार्कीको पनि आज शनिवार शव फेला परेको छ।

वार्ड नं. ४ मा विस्थापित भएका केहीलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ, भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ। वार्ड नं. ४ कै मैना गाउँबाट विस्थापित भएकाहरु गाउँदेखि माथिको रतनकोट डाँडामा आएर बसेको बताएका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिकाकै वार्ड नं. ६ धुमा गाउँमा गएको पहिरोसँगैको बाढीले बगाउँदा वेपत्ता भएका २० वर्षीय शान्त बहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने अझैसम्म पनि फेला परेका छैनन । उक्त पहिरो र बाढीमा बगेका मध्ये २ जनाको भने जिवितै उद्धार गरिएको थियो । त्यस क्षेत्रमा पहिरो र बाढीले ठूलो क्षति पुर्याएको छ ।

त्यसैगरी बाढीले वार्ड नं. ६ कै कार्की ज्यूलामा एकाएक बढेको बाढीले २ घर बगाएको छ । साथै त्यस क्षेत्रमा रहेका केही घरमा बाढी पसेको छ । त्यस क्षेत्रबाट धेरै घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै बारेकोट गाउँपालिका वार्ड नं. ५ का पाखा गाउँ, तोलखाना गाउँ र कालाखोलीमा पनि पहिरोले असर गरेको छ । अवरिल वर्षाले जमिन चर्किएको र पहिरो जाने सम्भावना बढेपछि तीन गाउँका १५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । ती गाउँबाट विस्थापित भएका मध्ये केही विद्यालयहरुमा आश्रय लिएर बसेका छन् ।

त्यसैगरी बारेकोट गाउँपालिकाकै वार्ड नं. धौलाकोट गाउँका ३२ घरधुरी विस्थापित भएका छन् ।

बारेकोट गाउँपालिका वार्ड नं. ६ धुमा गाउँमा गएको पहिरो, यस ठाउँमा बगेका २ वेपत्ता अहिलेसम्म फेला परेका छैनन ।

जिरी र धुमा पहिरोका घाइतेको सेनाको हेलिकोप्टरमा उद्धार

यसैबीच वार्ड नं. ४ जिरी र वार्ड नं. ६ धुमाको पहिरोमा परेर घाइते भएका २ जना गम्भीर अवस्थाका विरामीको उद्धार गरिएको छ । संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतको पहलमा सेनाको हेलिकोप्टरले बारेकोट पुगेर उनीहरुलाई आज उद्धार गरी कोहलपुर पुर्याइएको हाे । उद्धार गरिएकाहरुमा वार्ड नं. ६ का वर्ष सातका बालक रामचन्द्र चलाउने र वार्ड नं. ४ का ६० वर्षीय लालबहादुर नेपाली छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा राखिएको छ । घाइते लालबहादुर नेपालीको टाउको र जिउँमा गम्भीर चोटपटक लागेको छ भने रामचन्द्र चलाउनेको खुट्टा भाँचिनुका साथै शरिरमा चोटपटक लागेको छ ।

सयौ घरपरिवार विस्थापित, छैन कुनै राहत

जुम्ला र डोल्पा जिल्लासँग जोडिएको बारेकोट गाउँपालिका अहिलेसम्म पनि सडक सञ्जालले जोडिएको छैन । सडक सञ्जालले नजोडिएको र सदरमुकामबाट निकै टाढा भएकोले उद्धार तथा राहतको पनि ठूलो समस्या परेको छ । बिहीबार राति पहिरो गए पनि पहिरो गएका मध्ये वार्ड नं. ४ मा शुक्रबार अबेर मात्र सेना र प्रहरीको टोली उद्धारका लागि पुगेको थियो । वार्ड नं. ६ धुमामा भने अहिलेसम्म पनि सेना र प्रहरीको उद्धार टोली पुग्न सकेको छैन । घाइतेहरुको उद्धारका लागि पठाउन तयार भएको सेनाको हेलिकोप्टर मौसम खराब भएका कारण शुक्रबार दिनभर जान सकेन । शनिवार दिउसो मात्र उक्त हेलिकोप्टर सुर्खेतबाट उडेर घाइतेहरु ल्याएको थियो ।

पहिरोबाट सयौ मानिस विस्थापित भए पनि अहिलेसम्म त्यहाँ अन्य राहत पुग्न सकेको छैन । पीडितहरु भोकभोकै जंगलमा रात कटाइरहेको बताइरहेका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट गाउँपालिका ४ जिरीका ३२ घर , गोठगाँउका ८ घर, मैना गाउँका ५० भन्दा बढी विस्थापित भएको स्थानीयले जानकारी दिएका छन् ।

बारेकोटका अधिकांश गाउँहरुमा खोलाहरु निकै बढेका छन् । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जानसक्ने अवस्था नरहेको स्थानीयहरु बताउँछन् ।

वार्ड नं. ४ जिरी सार्की गाउँमा गएको पहिरो । यस ठाउँका २ घर पूरै बगेको र २ घर आधा बगेका छन् । यहाँ ११ जना बगेका मध्ये ९ को शव भेटिएको छ ।

 

वार्ड नं. ६ कार्की ज्यूलामा आएको बाढीले यहाँका २ घर बगाएको छ । यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

बारेकोट गाउँपालिका वार्ड नं. ६ कार्की ज्यूला

बाढी र पहिरो पीडित तथा त्यसबाट विस्थापित भएकाहरु जंगलमा यसैगरी पाल हालेर बस्न विवश छन् ।
लगातार परेको अविरल वर्षाले बारेकोट गाउँपालिकाका अधिकांश गाउँमा यसैगरी जमिन चर्काएको छ र पहिरोको खतरा बढेको छ । यसरी जमिन चर्किएपछि सयाै मान्छे घर छाड्न बाध्य छन् ।

Loading...