‍अनुमान विपरित नेपालमा पस्यो सलह, अझै अर्को ठूलो झुण्ड आउन सक्ने

काठमाडाैं । कृषिका लागि निकै चुनाैतिपूर्ण मानिएकाे सलह नेपालमा भित्रिएकाे छ । प्रदेश २ र ५ का तराईका विभिन्न जिल्लामा शनिबार बिहान भित्रिएको सलह किरा मरुभूमि सलह रहेको कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएको छ ।

यसअघि सरकारले गठन गरेकाे अध्ययन कार्यदलले भने यस वर्ष सलह नेपालमा नअाउने बताएकाे थियाे । तर, त्यस अनुमान विपरित कार्यदलले रिपाेर्ट दिएकाे एक महिना पनि नबित्दै सलहकाे ठूलाे झुण्ड नेपाल पसेकाे हाे । अहिले प्रदेश २ काे बारा, राैतहट, सर्लाही, प्रदेश ५ काे रुपन्देही, पाल्पासम्म पुगेकाे बताइएकाे छ । कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्र प्रमुख सहदेव हुमागाईँले भारत हुँदै नेपाल भित्रएको सलह किराका सबै विशेषताहरु मरुभूमि सलहसँग मिलेको र वैज्ञानिकहरुलाई तस्बिर देखाउँदा पनि सोही कुरा आएको बताएका छन् ।

नेपालमा पूर्वानुमान विपरित सलह भित्रनुलाइ असामान्य मानिएकाे छ । अचानक सलह भित्रिएपछि अहिले त्यसकाे नियन्त्रण कसरी गर्ने भन्ने छलफल थालिएकाे छ । शनिबार नेपालका कृषि तथा किट वैज्ञानिकसहित पाकिस्तानका वैज्ञानिक र एफएओका क्षेत्रीय प्रतिनिधिसँग परामर्श गरिएकाे बताइएकाे छ । साे क्रममा हावाको गति अचानक परिवर्तन भएका कारण भारतको बिहार हुँदै नेपालमा सलह प्रवेश गरेको देखिएको बताइएकाे छ ।

केन्द्रका प्रमुख हुमागाईँले यसअघि सलहबारे अध्ययन गर्न बनाइएको आफू नेतृत्वको कार्यदलले बनाएको कार्यनिर्देशिका अनुसार प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा तत्काल सलह नियन्त्रणको काम थाल्ने तयारीमा भएको बताए । सहलको स्थलगत अध्ययनका लागि विशेषज्ञसहितको टोली आइतबार सम्बन्धित क्षेत्रमा पठाइने कृषि मन्त्रालयले जनाएको छ ।

मौसम विभागका विज्ञसँग सल्लाह गर्दा हावाको गति अबको केही दिन दक्षिणबाट उत्तर तिर मोडिने भएकाले सलहका थप झुण्डहरु आउँदो एक–दुई दिनमा भित्रन सक्ने पूर्वानुमान रहेको हुमागाईँले बताए । उनले अहिले भित्रिएको सलहको झुण्ड ठूलो नरहेको र धेरै समय नरोकिई अघि बढेको देखिएकाले त्यति क्षति नगरेको देखिएको छ । तर हावाको गति विश्लेषण गर्दा भोलि र पर्सिसम्ममा सलहका थप झुण्ड आउन सक्ने देखिएको बताए ।

शनिबार बाराको निजगढ तथा सिमरा क्षेत्रमा सलहको अवलोकन गरेर फर्किएका कृषि ज्ञान केन्द्र कलैयाका प्रमुख जितेन्द्र यादवका अनुसार सो क्षेत्रमा सलहको सानो झुण्ड रहेको छ । तत्काल त्यति क्षति नगरेको भए पनि अझै भित्रिएमा समस्या हुने देखिएको छ ।

मुलतः अफ्रिकाको रैथाने फट्याङ्ग्रा प्रजातिको किरा सलह (मरुभूमिमा पाइने) आहराको खोजीमा हजारौँ किलोमिटर पार गरेर भारतसम्म आइपुगेको र हावाको गतिसँगै भिन्न भएको सानो झुण्ड नेपाल प्रवेश गरेको हो । सलहले सामान्य अवस्थामा करोडौँको संख्यामा समूह बनाएर उड्ने र आफ्नो मार्गमा परेका सबै बालीहरु सखाप नै पार्ने गर्छन् ।

सलह पसेपछि किसानले बाली भित्र्याउन खेत पस्नै पाउँदैनन्, अर्थात केही पनि नछोडी पूरै खान्छन् । सलहका कारण खाद्य संकट उत्पन्न भएका उदाहरण र चेतावनी सम्बद्ध निकायबाट आउने गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गएको अप्रिलमा सार्वजनिक गरेको ग्लोबल रिपोर्ट अन फुड क्राइसिस सम्बन्धी प्रतिवदेनमा विश्वमा खाद्य संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको थियो, यसको कारणमा सलह पनि उल्लेख थियो ।

आठ–दश लाखको समूहमा उड्ने सलह किसानका शत्रु हुन् । यो किरा फट्याङ्ग्रा समूहको किरा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको किट विज्ञान विभागका प्रमुख सह–प्राध्यापक डा. सुन्दर तिवारीले बताएका छन् ।

विशेष गरी गर्मी मौसममा सलहले आफ्नो वंश बिस्तार गर्ने उनले बताए । सलहको समूह १३० देखि १५० किलोमिटरप्रति दिनको गतिमा उड्ने गर्छन् । अहिलेको सलहले आनुवंशिक परिवर्तन गरेर उड्ने क्षमता बिस्तार गरेको देखिएको डा. तिवारीले बताए ।

बलौटे माटो र तातो या गर्मी ठाउँमा यसले आफ्नो वंश बिस्तार गर्ने गर्छ । सलहको जीवन चक्र मात्रै ९० दिनको हुन्छ । नयाँ स्थानमा सलहले आफ्नो वंश बिस्तार चाँडो गर्ने गर्छन् ।

Loading...