रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा

काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ ।

जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न भएकाे भन्दै जिल्ला अदालत रुकुम पश्चिमले उक्त सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे । पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।

जिल्ला अदालत रुकुम पश्चिमले पक्राउ परेका मध्ये तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । साधारण तारेखमा छुट्नेहरुमा तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ल रहेका छन् । त्यसैगरी मृतक नवराज विककी प्रेमिका भनिएकी युवतीकी आमा प्रकाशी मल्ललाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत रुकुम पश्चिमले प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधारगृहमा राख्न यसअघि नै आदेश दिइसकेको थियाे ।

साेती घटनामा संलग्न भनिएका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार रहेकाे बताइएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेकाे थियाे । सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियाे ।

गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाकाे वडा नम्बर–८ साेतीकी मल्ल थरकी १७ वर्षीय युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर साे ठाउँमा पुगेका थिए । तर युवतीका अामाले गाउँलेलाइ गुहारेपछि उक्त घटना भएकाे हाे । घटनामा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको मृत्यु भएकाे थियाे । पीडित पक्षले उनीहरुलाइ कुटी कुटी हत्या गरेर भेरी नदीमा फालिएकाे आराेप लगाएका थिए ।

Loading...