राधेराधेमा मानव अस्थिपन्जर यसरी भेटियो

भक्तपुर, २२ फागुन । भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका डीएसपी शान्तिराज कोइरालाले बुधवार मानव अस्थिपन्जर फेला परेको पुष्टि गरे । उनका अनुसार स्थानीय राजेश श्रेष्ठको जग्गामा रहेको झाडीमा उक्त अस्थिपन्जर फेला परेको हो । ”जग्गाधनीले जग्गा भाडामा दिएपछि झाडी फाड्ने क्रममा बुधवार दिउँसो अस्थिपन्जर फेला परेको हो ।” डीएसपी कोइरालाले भक्तपुर पोस्टसंग भने ।

खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट उक्त अस्थिपन्जर पुरुषको भएको अनुमान लगाएको छ । तर, अस्थिपन्जर मात्र भएकोले थप अनुसन्धान जटिल बनेको बताइएको छ । अस्थिपन्जर पनि टुक्रिएको अवस्थामा भेटिएकोले करिव १ वर्ष पुरानो शव हुनसक्ने प्रहरीको अनुमान छ ।

लुगाको कारण अस्थिपन्जर पहिचान हुन सक्ने प्रहरीको आशा छ । ”अस्थिपन्जरलाई बुधबार साँझ नै त्रिवि शिक्षण अस्पताल पठाइएको छ । फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ ।” डीएसपी कोइरालाले भने । अस्थिपन्जर पहिचान भएपछि मात्र हत्या वा मृत्यु बारे अनुसन्धान गर्न सजिलो हुने प्रहरीको भनाइ छ । झाडीमा भेटिएकोले हत्या गरी शव फालिएको हुनसक्ने आसंका गरिएको छ ।

Loading...