गणतन्त्र स्मारक: अझै भएन सञ्चालन

काठमाडौँ, २५ कात्तिक । उद्घाटन भएको पाँच महिना बित्दा पनि नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक सञ्चालनमा आउन सकेको छैन । गणतन्त्र दिवसका अवसर पारेर गत जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले स्मारक उद्घाटन गरेका थिए । निर्माण शुरु भएको आठ वर्षमा स्मारक सम्पन्न भएको थियो । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलनसहित राष्ट्रिय सङ्ग्रहालयको घोषणा गरेका थिए ।

त्यसअघि भवनको मूल खम्बामा राजाको विशेष झण्डा फहराइन्थ्यो । विसं २०६५ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरेका थिए । सङ्ग्रहालयले ७५३ र दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ । सङ्ग्रहालयको जग्गामा शहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । स्मारक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । गत साताको मन्त्रिपरिषद्ले स्मारक हस्तान्तरणसम्बन्धी निर्णय गरेको जानकारी आफूले पाएको उनले सुनाए।

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा बनेका छन् । राणाशासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्युँदा शहीदका नाममा सम्झनास्वरूप खम्बा निर्माण गरिएको हो । नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण भएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले जानकारी दिए । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ ।

“जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ”, इञ्जिनीयर महर्जनले भने । स्मारकमा ‘शहीदको रगत खेर जानेछैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राखिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ ।

यसअघि नारायणहिटी दरबार क्षेत्रमा २।१ मिटर मात्र चौडाइ रहेको इच्छुमती टुकुचा लाई स्मारक निर्माणका क्रममा ४।२ मिटर चौडाइमा विस्तार गरिएको छ । दरबारकी कुनै रानीले इच्छाएर नारायणहिटीभित्र ल्याइएकाले यसको नाम इच्छुमती राखिएको भनाइ छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने वरिष्ठ डिभिजनल इञ्जिनीयर महर्जनले बताए।

नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले खेलेको भूमिकाका विभिन्न तस्बिर र कलाकृतिलगायत सामग्री राख्न नेपाल कला परिषद्लाई जिम्मेवारी दिइएको छ । स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ ।

हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिएको छ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ ।

किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतीकात्मक अर्थ दिनेछ । विसं ०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण पाँच वर्ष ढिला भएको विभागले जनाएको छ ।

रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोई÷स्काई÷बङ्गलामुखी जेभीका रोशन श्रेष्ठले बताए । केही आन्तरिक साजसज्जाको काम अझै बाँकी रहेको उनको भनाइ थियो । नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने पर्यटकले स्मारक क्षेत्र पनि हेर्न चाहन्छन् । तर हस्तान्तरण नभएकाले त्यो इच्छा पूरा हुन सकेको छैन । दरबारको उत्तरपूर्वी कुनामा स्मारक बनेको देखिए पनि हेर्न नपाइएको अवलोकनका लागि दरबार आउनुभएका रामकृष्ण बानियाँले गुनासो गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ मन्त्रिपरिषद्ले नारायणहिटी सङ्ग्रहालय तथा गणतन्त्र स्मारक समिति गठन गर्ने निर्णय गरेकाले त्यसैअनुसार सञ्चालनमा आउने बताए । त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएपछि स्मारक सञ्चालन एवं व्यवस्थापन हुने मन्त्रालयले जनाएको छ । यसै साता नेपाल राजपत्रमा सूचना प्रकाशन हुनेछ ।

Loading...