पेरिडाँडामा पल्टियो जीप , दुई प्रहरीको घटनास्थलमै मृत्यु

बागलुङ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ ।

सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पन्ध्र जना सवार उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए ।

दुर्घटनामा परी घाइते भएका अन्य १३ जनालाई थप उपचारको लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटनामा ज्यान गुमाएका प्रहरी हवल्दार विष्ट इप्रका बरेङ र प्रहरी जवान श्रीष इप्रका बाटाकाचौरमा कार्यरत थिए ।

दुवै प्रहरी प्रदेश नं २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएर कार्यक्षेत्रमा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । साँघुरो र हिलाम्य सडकका कारण जिप दुर्घटना परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Loading...