बालबालिका र किशोरकिशोरीका लागि खेल्दै सिक्ने केन्द्र

नेपालगञ्ज, २० कात्तिक । वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा तीन वटा खेल्दै सिक्ने केन्द्र सञ्चालन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक कार्ययोजना निर्माण भइसकेको छ ।

कार्ययोजना निर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदल गठन गरिएको थियो ।  “करिब १२ हजार बालबालिका र किशोरकिशोरीहरु विद्यालय बाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको शिक्षा विकास समन्वय एकाइका प्रमुख रामसुरत यादवले बताए ।

उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको जनाइएको छ । खेल्दै सिक्ने केन्द्रलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ ।
श्रम गर्नुपर्ने तर, विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीहरुले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालन गर्न लागिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताए । केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीहरु विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने गरिएको छ ।

Loading...