महराले गल्ती गरेको ठहर गर्दै जेलमा राख्न अदालतको आदेश

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौंँमा दुबै पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हाे । महराको मुद्दामा आइतबार र सोमबार गरी दुई दिनसम्म थुनछेक बहस चलेको थियो । 

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो । 

शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।

पक्राउ परेको २५ दिनपछि बिहीबार महराविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा जबर्जस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरेको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ ।  जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ । 

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ ।  फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको छ । 

अब महरा मुद्दाको फैसला नभएसम्म पुर्पक्षका लागि थुनामा रहनेछन् । महरालाई डिल्लीबजार कारागार पठाइएको छ।  

सोही आरोपमा महराले सभामुख पद नै गुमाउनु परेको थियो भने उनको सांसद पद पनि निलम्बनमा छ । 

Loading...