बौद्ध दर्शनमा नारीप्रति समानताको दृष्टिकोण

काठमाडौँ, ५ असोज  । मानिस–मानिसबीच शान्ति, सद्भाव तथा भाइचाराको सन्देश दिने बौद्घ धर्ममा आजभन्दा दुई हजार ६०० वर्षअघि नै नारीलाई पनि समान दृष्टिकोणबाट हेरिएको पाइन्छ । भारतको बुद्घगयामा सम्बोधी ज्ञान लाभ गरिसकेपछि भगवान् गौतमबुद्घले पञ्चशील, आर्यअष्टाङ्गिक मार्गजस्ता महत्वपूर्ण ज्ञान विश्वलाई दिए ।

उचनिच कोही छैन, समानता र भ्रातृभावलाई विशेष महत्व दिने बौद्घ धर्ममा नारीलाई पनि पुरुषलाई जत्तिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा–प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्वारा संयुक्तरूपमा बुधबार आयोजित ‘बौद्ध दर्शन, प्रजापति गौतमी र नारी स्वतन्त्रता’ विषयको अन्तक्रियामा सहभागी वक्ताले सो धारणा राखेका हुन् । 

भगवान् बुद्घकी आमा महामाया देवीको निधनपछि सिद्धार्थ गौतमलाई पालनपोषण गरी हुर्काएकी कान्छी आमा प्रजापति गौतमी प्रवज्या भई भिक्षुणी बन्ने पहिलो महिला भएकी थिइन । 

बुद्घ शासनमा भिक्षु संघ स्थापना भएको छ वर्षपछि प्रजापति गौतमीको नेतृत्वमा भिक्षुणी संघ स्थापना भएको थियो । त्यसरी पुरुष तथा महिला दुवैलाई भिक्षु बन्ने अधिकार दुई हजार ६०० वर्ष अगाडि भगवान् बुद्धले दिएको समानताको सन्देश निकै महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो ।

प्रजापति गौतमीले आफूसाथ ५०० महिलालाई पनि प्रवज्जित गरी भिक्षुणी बनाएकी थिइन । हाल विश्वका रुस, चीन, मंगोलिया, जापान, नेपाल, भारतजस्ता थुप्रै मुलुकमा लाखौँको संख्यामा प्रवज्या लिई भिक्षुणी हुने महिला रहेका छन् ।

विश्वमा हाल एक अर्ब ६० लाखले बौद्ध धर्म अनुसरण गरेका छन् भने यो संसारको दोस्रो ठूलो धर्मका रूपमा मानिन्छ । सो कार्यक्रमको उद्घाटन गर्दै भिक्षु निग्रोधले प्रज्ञा नै मानिसको रत्न हो भन्नेमा विश्वास गर्ने बौद्ध दर्शनमा प्रलोभन, साम, दाम दण्ड भेदजस्ता विकृति हुँदैन भने । 

उनले सम्राट अशोकसहित अरू धेरै राजालाई युद्धबाट शान्तिमा फर्काइ बुद्धमय बनाएको चर्चा गरे । भिक्षु निग्रोधले भने, “पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरूमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट दुई हजार ६०० वर्षअघि नै शुरु भएको छ ।”

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति, समानता तथा भातृभावमा आधारित भएकाले बौद्ध दर्शनप्रतिको आकर्षण पूर्वी एशिया, दक्षिण पूर्वी एशियासहित विश्वका धेरै मुलुकका जनतामा बढ्दै गएको बताए । 

धर्मकीर्ति विहारका भिक्षुणी विर्यवती गुरुमाले भगवान् बुद्धले नारीको स्वतन्त्रताका लागि दुई हजार ६०० वर्षअघि नै धेरै अधिकार दिएर गएको बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले बुद्धकी कान्छी आमा प्रजापति गौतमीले ५०० महिलालाई भिक्षुणी बनाउने काम निकै महत्वपूर्ण भएको भन्दै यसलाई विश्वमा प्रचारप्रसार गर्नुपर्ने बताए । 

कार्यपत्र प्रस्तुत गर्दै सहप्राध्यापक उर्मिला ताम्राकारले भगवान् बुद्धले ८४ हजार धर्मस्कन्ध दिएर जानुभएको जानकारी दिँदै समाजका हरेक वर्ग, समुदाय, जातजाति तथा मानवको समस्या समाधान बौद्ध दर्शनमा रहेको बताए । 

प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरे तथा दर्शन विभागका प्रमुख दिनेशराज पन्तलगायतले भगवान् बुद्धको ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै मानव–मानवबीच समान व्यवहार गर्न सकेमा बुद्ध धर्मको सही प्रयोग मानिने बताए । 

Loading...