पञ्चाङ्ग निर्णायक समितिले निकाल्यो प्रेस विज्ञप्ति : यी हुन् तिहार मनाउने दिनहरु

काठमाडौं, ३ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार पर्वसम्बन्धी तर्कबितर्कको भ्रममा नपर्न आह्वान गरेको छ । बिभिन्न संचारमाध्यममार्फत गरिएका तर्क बितर्कको भ्रममा नपरी समितिले ठहर गरेका दिनहरुमा पर्व मनाउन आह्वान गरिएको हो ।

आइतवार एक प्रेस विज्ञप्ति मार्फत नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष यमदीपदान कात्तिक ८ गते शुक्रवार पर्ने र कागतिहार कात्तिक ९ गते शनिवार पर्ने जनाएको छ । समितिका अनुसार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन कात्तिक १० गते आइतवार परेको छ भने गाई र गोरूपूजा, म्हपूजा कार्तिक ११ गते सोमवार पर्ने प्रष्ट पारिएको छ ।

त्यसैगरी गोवर्धनपूजा, यमद्वितीया, भाईटीका कात्तिक १२ गते मङ्गलवार पर्ने जनाइएको छ । ननस्टप खबरलाई प्राप्त विज्ञप्तिमा भाइटीकाको शुभ समय मङ्गलवार मध्यान्ह ११ः५५ बजेलाई तोकिएको छ । किजापूजा र नेपाल संवत् ११४० वर्षारम्भ पनि यसैदिन हुने विज्ञप्तिमा बताइएको छ ।

पञ्चाङ्ग सम्बन्धी निर्णय गर्ने नेपाल सरकारको आधिकारिक निकाय पञ्चाङ्ग निर्णायक समितिका सदस्य-सचिव सूर्यप्रसाद ढुङ्गेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आगामी वर्षको असोजमा मलमास पर्ने पनि सूचित गरिएको छ ।

 

Loading...