महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने कानुन व्यवसायीको भनाई, यस्तो छ फर्गेट एस्टर्डेले पु¥याएको क्षति

काठमाडौं, १७ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासमा दोषी करार नमिल्ने कानुन व्यवसायीहरुले बताएका छन् । आरोप लगाउने महिलाले नै यस कुराको खण्डन गरेकाले अब महरालाई दोषी करार गर्न प्रमाण नपुग्ने उनीहरुले बताएका हुन् ।

राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै विभिन्न संविधानविद्हरुले महराको सभामुखमै पुनर्वहाली हुने सम्भावना भने नरहेको बताएका छन् ।

नेपाल बार एशोसिएशनका महासचिव लिलामणि पौडेलले नेता महरा सभामुख पदबाट मुक्त भइसकेको उल्लेख गर्दै अब उनी पुनर्वहाली हुने सम्भावना नरहेको बताए । उनले फौंजदारी कार्यविधि संहिताअनुसार पीडित भनिएकी महिलाले प्रहरीको हटलाईन सेवामा आफू पीडित भएको जानकारी गराएपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको तर अहिले उनले त्यसको खण्डन गरेका कारण अब यो प्रकरणमा महरालाई दोषी नै करार गर्न नसकिने बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले महरा प्रकरणको छानविन प्रक्रिया नरोकिए पनि पीडित भनिएकी महिलाले अनुसन्धानमा नसघाए सो घटनाको सत्यतथ्य बाहिर आउन कठिनाई हुने बताए । उनले पीडित भनिएकी महिलाले डिएनए परीक्षण गर्न नदिए पछि त अनुसन्धानका लागि निवर्तमान सभामुख महरालाई दोषी करार गर्न प्रमाण नै नपुग्ने तर्क गरे ।

त्यसैगरी संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले पदबाट राजीनामा दिएसँगै सभामुख पद रिक्त रहेको बताए । साथै उनले अब महरा उही ठाउँमा फर्कने सम्भावना नभएकोले अर्को सभामुख चयनको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।

महरा केसमा सुरुमा निकै आक्रोशित रुपमा आएकी संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाही पछिल्लो समय भने आफूले लगाएको आरोप हुँदै नभएको भन्दै खण्डन गर्न लागेकी छन् । उनले महरा आफ्नो कोठामा आउँदै नआएको पनि बताएकी छन् । साथै उनले महरा र आफ्नाबीच बाबु छोरीको सम्बन्ध रहेको पनि खुलासा गरेकी छन् ।

रोशनी शाहीले आफ्नै कुरा खण्डन गरे पनि सुरुका दिन केही महिला नेतृहरुलाई टेलिफोन गरेर महरामाथि ठूलो आरोप लगाएकी थिइन । साथै उनले मिडियासमक्ष महराले पठाएका म्यासेजसहितका केही कुराहरु दिएकी थिइन । ती सबै प्रकरणले महरा कही न कही यसमा जोडिएको देखाइसकेको छ । उनीहरुका बीच कस्तो खालको सम्बन्ध हो र ‘फर्गेट एस्टर्डे’मा के के भएको थियो भन्ने कुराको सत्यता मात्र बाहिर आउन बाँकी छ । त्यो कुरा महिला स्वयमले नबताएसम्म र उनले नै त्यसलाई खण्डन गरिसकेको अवस्थामा महरालाई दोषी करार गरेर थप कारवाही गर्न भने गाह्रो छ । कानुनी रुपमा कारवाही गर्न प्रमाण नपुगे पनि महराको राजनीतिक छवि भने ध्वस्त भएको छ । उनी सभामुखमा पुनर्बहाली हुने त कुनै सम्भावना नै छैन साथै उनको संसद पद पनि जोगिन्छ या जोगिदैन भन्ने प्रश्न उठेको छ । अहिले महरा कम्तिमा आफ्नो संसद पद जोगियोस भन्नेमा लागेको देखिन्छ । त्यसका लागि उनी प्रयास गरिरहेका छन् ।

अर्कोतिर एकथरिले उनलाई पार्टीमा पनि नेतृत्व तहमा पुनर्बहाली हुन नदिने तयारी गर्न थालेका छन् । अहिले उनी पार्टीको साधारण सदस्य समेत छैनन । सभामुखमा निर्वाचित भइसकेपछि कानुन अनुसार उनले पार्टीका सबै पद छोडेका थिए । तर, सभामुख नरहेको अवस्थामा उनलाई पार्टीले जिम्मेवारी दिनसक्ने हो । तर, उनको फर्गेट एस्टर्डे काण्डका कारण नेकपाका नेताहरु अहिल्यै महरालाई कुनै पद दिन नसकिने बताउँछन । महरालाई पार्टीको जिम्मेवारी दिए त्यसले पार्टीकै छवि बिगार्ने भएकोले उनलाई पार्टी जिम्मेवारीमा ल्याउन नसकिने नेताहरुको भनाई छ । अर्कोतिर पहिलेदेखि नै पार्टीमा महराका प्रतिस्पर्धीका रुपमा रहेकाहरु भने महरालाई अब पार्टी जिम्मेवारीमा ल्याउन नदिनेतिर लागेको स्रोतको दावी छ ।

Loading...